चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन् शक्तिशाली

Photo: Reuters
Photo: Reuters

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन्। ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो।  

साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ। बलियो बनाइएका ती क्षेत्रले चीनको हवाई फौजलाई आकाशमा शत्रुविरुद्ध लड्न सहयोग गर्नेछन्।

एक साताअघि चीनको जनमुक्ति सेनाको हवाई फौजले ताइवानको रक्षा क्षेत्रमा १५० ओटा लडाकु विमान उडाएपछि स्याटलाइट तस्विर सार्वजनिक गरिएका थिए। ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ लडाकु विमान उडेपछि दुई देशबीचको तनाब चुलिएको छ। विवादमा अमेरिकासमेत तानिएको छ। ताइवानमाथि हमला भए अमेरिका चुप लागेर नबस्ने वासिंगटनले चीनलाई चेतावनी दिइसकेको छ। 

लंगटियान, हुइएन र झाङझोउ आधार क्षेत्र बाट खिचिएका तस्विरमा चीनले निर्माण गरिरहेको भण्डारण बंकर, लामा एप्रोन र नयाँ प्रशासकीय भवनहरु देख्न सकिन्छ। 

तस्विरलाई सुरुमा अमेरिकाको सेनाको वेबसाईट दी ड्राइभले सार्वजनिक गरेको थियो। सन् १९८० को दशकको समयमा निर्माण गरिएका पूर्वाधारहरुलाई सन् २०२० को सुरु देखि पुनः निर्माण गरेको तस्विरमा देखिन्छ। कोभिड महामारीको समयमा पनि निर्माण कार्य जारी रहेको थियो। 

लंगटाएन वायुक्षेत्रलाई ठूलो र हवाई रक्षा स्थापनाको रुपमा विकसित गरिएको छ। त्यहाँ कम्तिमा पाँच ओटा बंकरहरु थप प्रशासकीय केन्द्रहरु निर्माण भइरहेका छन्। 

प्रकाशित मिति: : 2021-10-16 06:31:00

प्रतिकृया दिनुहोस्