दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

FIle photo
FIle photo

रमेश गिरी
दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ। सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि आज बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ।

जिल्लाका मात्रै नभई काठमाडौंं र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार दुई सय रूपैयाँमा बिक्री गरेका छन्। आजबाट अझै एक सय रूपैयाँ बढ्न सक्ने व्यापारी बताउँछन्।

यो मूल्य गत वर्षकोभन्दा दोब्बर हो। यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो सात सय पचासदेखि आठ सय रूपैयाँसम्ममा बिक्री गरेका थिए। यस वर्ष सुरूको मूल्य नै एक हजार दुई राखेका छन्।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताए।

सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, 'चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो।'

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उनले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको बताए।

अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो १२ सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताए। उनले सानो च्याङ्ग्रा प्रतिगोटा ३६ हजार र ठूलो च्याङ्ग्रा ४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको जानकारी दिए।

च्याङ्ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय रूपैयाँ किलो छ। गत वर्ष तयारी मासु एक हजार सात सय किलोमा बिक्री गरे पनि यस वर्ष किलोमै एक हजारभन्दा धेरै बढेको सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु बिक्री गरिरहेका व्यापारी सुमन शाहीले बताउँछन्।

भेडा भने बिक्री हुन छाडेपछि यस वर्ष व्यापारीले काठमाडौं उपत्यकामै करिब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको जानकारी पनि उनले दिए। भेडा पनि मुस्ताङमै प्रतिगोटा ३५ हजार परेको भन्दै व्यापारीले यहाँ भने प्रतिकिलो एक हजार एक सयमा बिक्री गरिरहेका छन्।

च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई २५ हजार कर तिरेको उनले बताए।

भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो छ। च्याङ्ग्रा व्यवसायी राजाराम श्रेष्ठले भने, 'एउटा गोठको भाडा २५ हजार लिएको छ, यहाँ २० वटाभन्दा बढी गोठ छन्। अस्थायी भए पनि शौचालय बनाइदिन आग्रह गर्दा उल्टै खाल्डो खनिदिएका छौँ त्यसमै गर भनेर गए। खुला शौचालय गर्नुपर्ने बाध्यता पो छ त।'

नगरपालिकाले बत्ती पनि नदिएको गुनासो उनीहरूको छ। नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग १० हजारका दरले भाडा लिएको पनि उनीहरूले बताए। चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी पसल छन्। रासस

प्रकाशित मिति: : 2021-10-13 12:28:00

प्रतिकृया दिनुहोस्