बैतडी–दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट प्रतियोगिता २०७८ को उपाधि कैलपाल क्रिकेट क्लब,बैतडीले हात पारेको छ।
गोकुलेश्वर खेल मैदानमा आज भएको फाइनल खेलमा कैलपालले सुशितम क्रिकेट क्लब,पन्ज्युनयाँलाई सुपर ओभरमा हराएको हो। दुबै टोलीले समान १३३ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको कैलपालले १२ रन बनायो। जवाफमा पन्ज्युनयाँले तीन रन मात्रै बनाउन सक्यो। त्यसअघि टर हारेर पहिला ब्याटिङ गरेको पन्ज्युनयाँ निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३३ रन बनाएको थियो। जसमा सुदिप कार्कीले नटआउट ५४ रनको पारी खेले। कैलपालका महेश चन्दले चार विकेट हात पारेका थिए।
जवाफमा कैलपालले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १३३ रन मात्रै बनाउन सक्यो। कैलपालका लागि प्रदीप चन्दले सर्वाधिक ४८ रन हिर्काएका थिए। पन्ज्युनयाँका गोपाल कार्कीले ३ विकेट झारे।
उपाधिसँगै कैलापालले ६५ हजार ५५५ पुरस्कार हात पार्यो भने पन्ज्युनयाँले २५ हजार ५५५ मा चित्त बुझायो। प्रतियोगितामा तेस्रो भएको टिम बित्थडले ११ हजार ५५५ पुरस्कार पायो। म्यान अफ द फाइनल कैलपालका महेश चन्द भए।
यस्तै म्यान अफ द सिरिजको उपाधि पन्ज्युनयाँका अशोक कार्कीले हात पारे। बेस्ट बलर पनि पन्ज्युनयाँका किरन कार्की भए भने ‘बेस्ट ब्याट्सम्यान’ निराजन ट्रेडर्स गोकुलेश्वरका खेलाडी दिनेश विष्ट चुनिएका छन्।
प्रतियोगिताका ‘इमर्जिङ प्लेअर’पन्ज्युनयाँका १४ वर्षीय खेलाडी सुदिप कार्की भए। विजेता र उपविजेता खेलाडीलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक अरुण बम, कुमारी बैंक, शाखा डिलाशैनीका प्रबन्धक नीरज खरेल र नागार्जुन क्रिकेट क्लबका अध्यक्ष करन विष्ट लगायतले पुरस्कार वितरण गरे।
नागार्जुन क्रिकेट क्लबको आयोजनामा यही असोज १६ गतेदेखि सुरु भएको प्रतियोगितामा बैतडी, दार्चुला र डडेल्धुराका गरी १६ टोली सहभागिता रहेको थियो। यसअघि पहिलो संस्करणको उपाधि पिपलकोट क्रिकेट क्लब दोगडाकेदारलाई ४८ रनले पाखा लगाउँदै निंग्लाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौँले हात पारेको थियो।