दीप युनाईटेड मन्डेलालाई शुभ विजयादशमी कपको उपाधि

दीप युनाईटेड क्लब पोखरा महानगरपालिका १६ दीपले आयोजना गरेको दोस्रो संस्करणको ‘शुभ विजयादशमी कप फुटसल प्रतियोगिता २०७८’  को उपाधि दीप युनाईटेड मन्डेलाले जितेको छ।

विजयादशमीको अवसरमा पोखरा १६ भित्रका १७ टोलीको सहभागितामा शनिबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा जेवाईसी ‘ए’ लाई ४–२ गोल अन्तरले पराजित गर्दै मन्डेलाले उपाधि रक्षा गरेको हो।

उपाधिसँगै मन्डेलालाई ट्रफि, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्रदान गरेको खेल संयोजक प्रदिप गुरुङ (माईला) ले जानकारी दिए। उनका अनुसार उपविजेता बनेको एवाईसीले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित १५ हजार हात पार्याे। उक्त प्रतियोगिताको फाईनल खेलबाट म्यान अफ द म्याचको रुपमा सञ्जय पुन घोषित भएका थिए। उक्त प्रतियोगिताबाट रोशन छन्त्याल सर्वाेत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा मिलन थापामगर, उत्कृष्ट डिफेन्डरमा चन्द्र पुन, उत्कृष्ट गोलरक्षकका रुपमा राजकुमार थापामगर घोषित हुदै जनही ५ हजार प्राप्त गरे। 

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई पोखरा महानगरपालिका १६ का वडा अध्यक्ष जीवन प्रसाद आचार्य, वडा सदस्य तथा क्लबका प्रमुख सल्लाहकार राजेश गुरुङ (राजु), गोर्खा फिटनेश सेन्टरका प्रवन्धक निर्देशक डिबी लामा लगायतले पुरस्कार वितरण गरेका थिए। सो अवसरमा बोल्दै प्रमुख अतिथत समेत रहेका आचार्यले क्लबको प्रशंसा गरे।

उनले उक्त प्रतियोगिताले आपसी भाईचारको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखेका थिए। सो समापन क्लबका प्रमुख सल्लाहकार राजेश गुरुङ (राजु), गोर्खा फिटनेश सेन्टरका प्रवन्धक निर्देशक डिबी लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। प्रतियोगिता सम्पन्न गर्न स्वदेश तथा विदेशमा रहेको दीपबासीहरुले आर्थिक सहयोग गरेका थिए।

क्लबका अध्यक्ष मनकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष खेमराज आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव राम प्रसाद सुवेदीले गरेका थिए।

प्रकाशित मिति: : 2021-10-11 06:22:00

प्रतिकृया दिनुहोस्