नेपाली मूलका बर्मेलीसहित दर्जनौँ भारतको मणिपुरमा पक्राउ

Photo: PTI
Photo: PTI

म्यान्मार सैन्य शासनको आतंकले उकुस–मुसुक भएपछि भारत छिरेका २८ बर्मेली सीमाक्षेत्रमा पक्राउ परेका छन्। भारतकाे मणिपुर राज्यस्थित तेङनौपल जिल्लाबाट नक्कली आधार कार्डसहित उनीहरू पक्राउ परेको सीमा सुरक्षा फौजले जनाएको छ।

जननिर्वाचित सरकारका प्रतिनिधिहरूलाई नियन्त्रणमा लिई सैनिकद्वारा राजनीतिक ‘कू’ भएयता बर्मेलीहरू दिनहुँ भारतका विभिन्न राज्यमा छिरिरहेका छन्। उनीहरूमध्ये कतिपयले नक्कली आधार कार्ड बनाएर भारतमै बस्न खोजेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। नक्कली आधार कार्डसहित मणिपुरस्थित तेन्गनौपलको ठाउँ–ठाउँबाट मङ्गलबार चिकिम गाउँबाट तीन महिलासहित ४ जना पक्राउ परेको मोहरे प्रहरीले बताएको छ।

मणिपुरको इम्फाल जान हिँडिरहेका उनीहरू नेपालीमूलका बर्मेली नागरिक हुन्। नक्कली आधार कार्ड बोकेको आरोपमा पक्राउ पर्नेहरू म्यान्मारको न्यू–टाउन माण्डले निवासी बाबूराम शर्मा, देवी शर्मा, लक्ष्मी शर्मा र राधा शर्मा रहेका छन्। त्यस्तै, प्रहरी स्रोतका अनुसार बुधबार थप २४ बर्मेली प्रहरी हिरासतमा पुगेका छन्।

असम राइफल्स र मणिपुर प्रहरीको संयुक्त चेकजाँच अभियानका क्रममा उनीहरू नक्कली आधार कार्डसहित पक्राउ परेको सुरक्षा फौजको दावी छ। १४ महिला र ३ नाबालिगसहित २४ जना उनीहरूबाट २१ वटा नक्कली आधार कार्ड फेला परेका छन्। ती मध्ये कतिपय नेपालीमूलका रहेको समेत बताइएको छ।

म्यान्मार–भारत सीमाक्षेत्रमा नक्कली आधार कार्डसहित पक्राउ परेका उनीहरूमाथि भारतीय संविधानको धारा– ४६८, ४७१, ५१ (बी) अन्तर्गत प्रहरी छानवीन थालिएको छ।

आधार कार्ड हुँदा भारतभर कुनै तनाब हुँदैन, त्यसैले प्रायः बर्मेली हुन् या नेपाली नक्कली आधार कार्ड नै भएपनि लिने प्रयास गर्छन्। तर म्यान्मार–भारत सीमाक्षेत्रका लागि भने यो पहिलो घटना होइन। यसैगरी कैयौँपटक बङ्गाली, बर्मेली र नेपालीहरू पक्राउ परिसकेका छन्। गत १–अक्टूबरमा पनि इम्फान विमानस्थल नजिकैबाट छिन् जातिका १४ बर्मेली पक्राउ परेका थिए।

सरकारी सैनिक र विद्रोही समूह छिनल्याण्ड रक्षा फौजबीच दैनिकजसो मुठभेड जारी रहेपछि आफूहरू गाउँ छाडेर भाग्न बाध्य भएको बताएका छन्। शरणका लागि भारत प्रवेश गर्ने प्रायः बर्मेलीहरू छिन प्रान्यकै रहेका छन्।

म्यान्मारको हिंसात्मक गृहयुद्धपछि भारतको मिजोरम र मणिपुर राज्यमा सबैभन्दा बढी शरणर्थीहरू बसोबास गरिरहेको स्थानीय तथ्याङ्क विभागले जनाएको छ। नक्कली आधार कार्डसहित पक्राउ परेका कैयौँ बर्मेलीमाथि कडाईका साथ प्रहरी छानवीन भइरहेको छ।

प्रकाशित मिति: : 2021-10-10 08:34:00

प्रतिकृया दिनुहोस्