अमेरिका उड्न लागेकी अनिता पङ्खामा पासाे लगाएर किन झुन्डिइन् ?

Breaknlinks
Breaknlinks

‘दिउँसो घर आएर नै कुरा गर्छु है बुबा’

गत बुधबार (असाेज २०) बिहान करिब साढे ७ बजेतिर बाबु रामचन्द्रसँगको केही समय भेट्दा अनिता रेग्मीले भनेकी थिइन्।

केही दिनअघि माइतीघरमा आएकी छोरीले दराजको साँचो छोडेपछि बिहान नै साँचो पुर्याउन रामचन्द्र छोरीको घर नजिकै पुगेका थिए।

२० मिनेटजति मोटरसाइकलकाे यात्रा गरेर बाबुले बुटवल उपमहानगरपालिका-१३ स्थित ढावहलवामा छोरी अनिताको घर नजिकै पुगेर साँचो दिए। तर, उनी छोरीको घरमा भने गएनन्। छोरीसँग दिउँसो भेट्ने आशामा उनी त्यहीबाटै फर्किए।

दिउँसो छोरीसँग भेटघाट हुनेमा विश्वस्त थिए, उनी।

शुक्रबार (आज) बिहान साढे ८ बजे काठमाडौंबाट २६ वर्षीय अनिता रेग्मीको अमेरिका यात्रा हुँदै थियो। धेरैको सपनाको शहर मानिने अमेरिका जान अनिता पनि उत्सुक नै थिइन्। त्यसैले उनी बिहीबार (हिजाे) नै बुटवल छोड्दै थिइन्।

कति वर्षपछि आमा-बुबासँग भेट्ने हो, टुङ्गो थिएन। त्यसैले अन्तिम पटक आमा-बुबा, दाइ-भाउजूलाई भेटेर बिदा माग्न माइतीघर आउने योजना सुनाएकी थिइन्, अनिताले।

भेट्दा बुबासँग मात्र होइन, भिडियाे च्याटमा आमा, दाइ र भाउजूसँग कुरा भइरहेको थियो। बिहान ११ बजेर ४५ मिनेटदेखि १० मिनेटसम्म अर्थात् ११ बजेर ५५ मिनेटसम्म कुरा भएको बाबु रामचन्द्रले अझै सम्झिरहेका छन्। 'एकछिनमा घरमा आउँछु है' भनेपछि छोरी अनिता पनि दङ्ग थिइन्।

समय बित्दै भयाे। माइती परिवार छोरीको प्रतिक्षामा बसिरहेकाे थियाे। तर सोचेकोजस्तो भएन।

छोरी भन्दा पहिले उनको घरबाट भाउजूको नम्बरमा १ बजेर ४७ मिनेटमा एउटा कल आयो। जुन खबरले माइती परिवारको एकाएक खुशी लुट्यो। अघिसम्म फोनमा खुशी भएर बोलिरहेकी छोरी मरेको खबर आयो।

'तपाइको छोरीले झुन्डिएर आत्महत्या गरिन् भनेर फोन आएको थियो। एकछिन पत्याउन नै गाह्राे। होसहवास नै गुम्यो,' बाबु रामचन्द्रले भने।

तीन वर्षअघि अनिताको घर निजकै मागी बिवाह भएको थियो। डीभी परेर अमेरिका गएकाे केटासँग छुट्टीमा आएका बेला अनितासँग विवाह भएको थियो। शनिबार अनिता पनि त्यही डीभी प्रकृियामार्फत् नै अमेरिका जान लागेकी थिइन्। तर छोरीको मृत्युको खबरले रेग्मी परिवार अचानक शोकाकुल बन्न पुग्याे। हतारिदै माइती परिवार छाेरी अनिताकै घरमा पुगे।

घर पुग्दा फोनमा भनेझैं छोरी कोठाभित्र पंखामा सलको पासो बनाएर झुन्डिएको अबस्थामा भेटिइन्। दिउँसाे घरमै सासु, देवर र अर्काे एक जना सदस्य हुँदा नै अनिताले ढोका खुल्लै पारेर झून्डिएकी थिइन्।

शनिवार अमेरिका उड्न लागेकी छोरी यसरी झुन्डिनुको कारण माइती परिवारले अझै भेटाउन सकेका छैनन्। केही समयसघि सम्म हाँसेर बोलेकी दिदि यसरी झुन्डिँदा दाई महेश पनि अनुत्तरित बनिरहेका छन्।

'किन यसरी झुन्डिनुपर्यो, यो कुनै हत्या वा आमत्महत्या गर्न प्रेरित गरेको जस्तो लाग्छ,' दाइ महेशले भने।

घटना हुँदा अनिताका घरमा श्रीमान्, ससुरा र एक जना देवर भने थिएनन्। प्रहरीले शवको पोष्टमार्टको लागि लुम्बिनी प्रदेशिक अस्पताल लगेको छ। परिवारले घटनामा निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। प्रहरीमा निष्पक्ष छानविनको लागि उजुरीसमेत दिएका छन्।

'हामी अनुसन्धान गरिरहेका छौं। अहिले नै यही हो भन्ने अबस्था देखिएको छैन,' इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदनबहादुर कुँवरले भने।

पछिल्लो केही महिनामा चितवन र रुपन्देहीमा यस्ता घटनाहरु बढ्दै गएकाे देखिएको छ।

केही महिनाअघि भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित बखान चोक नजिकै पनि साढे दुई तले घरभित्र २८ वर्षीय सविता भण्डारी धिताल झुन्डिएकाे अवस्थामा फेला परेकी थिइन्। सविताको माइती पक्षले घटना आत्महत्या नभई परिवारले नै मारेको भन्दै उनका श्रीमान्, ससुराविरुद्ध किटानी जाहेरी दिएका थिए। उजुरीपछि चितवनका योगेन्द्रकुमार धिताल र रमेशकुमार धिताललाई प्रहरीले पक्राउ गरेको थियो। अहिले पनि यो घटना अदालतमा बिचाराधिन छ। ससुरा र श्रीमानलाई भने अदालतले १ लाख रुपैयाँ धरौटी लिएर छोडेको थियो।

पछिल्लो समय प्रहरीसमक्ष आत्महत्या दुरुत्साहनका उजुरी आउनेक्रम बढिरहेकाे छ। वर्षभरी ६ सय मानिसको हत्या हुन्छ। त्यस्तै, दुरुत्साहबाट हत्या भएको भन्दै उजुरी पर्नेको सङ्ख्या १ सय ५० रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा १ सय ५० भन्दा बढी दुरुत्साहका उजुरी  आएकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-10-08 21:10:00

प्रतिकृया दिनुहोस्