पाकिस्तानमा भूकम्प जाँदा २० जनाको मृत्यु, कैयौँ घाइते

Getty Images
Getty Images

पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तमा बिहिबार बिहानै शक्तिशाली भूकम्प गएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको हरनाई जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको हो। 

भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान स्थानीय समयअनुसार ३ बजेर ३० मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको थियो। 

भूकम्पको झट्कापछि धेरै घरहरू भत्किएका छन्। शक्तिशाली भूकम्पको झट्काले हरनाई जिल्ला वरपरका क्षेत्रमा ठूलो क्षति भएको बताइएको छ।

सामाजिक संघ–संस्थासहितको सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्य सुरु गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

भूकम्पले भत्किएका घरहरूको भग्नावशेषमा धेरै मानिसहरू दबिएको हुन सक्ने अनुमान गरिएको छ। शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ।

प्रान्तका प्रभावित जिल्लाहरूमा आपतकाल घोषणा गरिएको छ।

प्रकाशित मिति: : 2021-10-07 07:06:00

प्रतिकृया दिनुहोस्