नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ सेप्टेम्बरको मनोनयनमा परेका छन्। बुधबार आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा ब्याटर जसकरण मल्होत्रा परेका छन्।
सन्दीपले यसअघि आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँगको एक दिवसीय खेलमा सर्वाेत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीको मनोनयन सूचीमा परेका हुन्।
यसैबीच, बंगलादेशका नासुमले घरेलु मैदानमा भएको टि–ट्वान्टी श्रृंखलामा न्युजिल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले श्रृंखलामा आठ विकेट लिएका थिए। यस्तै चौथो खेलमा १० रन खर्चिएर चार विकेट लिएका थिए।
अमेरिकी मल्होत्राले पिएनजी र आईसीसी विश्वकप लिग–२ मा १७३ रनमा अविजित रहेका थिए। उनले पूरा ६ एकदिवसीय खेलमा २६१ रन बनाएका थिए।
यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ। आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ।
आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ। दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ।