ए डिभिजन फुटसलमा लिग चरणको खेल सकियो

राष्ट्रिय ए डिभिजन फुटसल लिगअन्तर्गत लिग चरणका खेल सकिएका छन्। दुई घरेलु टोलीसहित चार टोली लिगको प्ले अफमा प्रवेश गरेका हुन्।

घरेलु टोली स्पोर्ट्स क्यासल र सविन मेमोरियलसँगै द राइजिङ क्लब र शंखमूल क्लब अन्तिम चारमा पर्न सफल भएका हुन्।

मंगलबार भएको अन्तिम खेलमा घरेलु टोली सविन मेमोरियलले शंखमूललाई ३-१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो। सविन कुल नौ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा छ। हार बेहोरेको शंखमूल पनि तालिकाको तेस्रो स्थानमा रहँदै प्ले अफमा कायम छ।

शंखमुलले नौ खेलमध्ये पाँचमा जीत, तीनमा बराबरी र एकमा हार बेहोरेर १८ अंक जोडेको छ। नौ खेल खेलेको क्यासलले सातमा जीत, एकमा हार र एक बराबरी खेल्दै २२ अंकका साथ शीर्ष स्थान कब्जा गरेको छ। द राइजिङ क्लबले समान नौ खेलमा छ जीत, दुई हार र एक बराबरीसहित १९ अंक बटुलेर दोस्रो स्थानमा छ।

फुटसल ५ धरान १४ अंकका साथ पाँचौँ स्थानमा छ भने १३ अंकसहित ढुकु फुटसल हव छैटौँ, समान अंक भएको मछिन्द्र स्काई सातौँ र १० अंकका साथ प्रभातफेरी तालिकाको आठौँ स्थानमा छन्। एउटा मात्र खेल जितेको लुम्बिनी फुटसल ४ अंक बटुलेर नवौँ तथा एउटा पनि खेल नजितेको झरना स्पोर्ट्स सबैभन्दा अन्तिममा छ।

बुधबारदेखि क्वालिफाई खेल हुने आयोजकले जनाएको छ। १० वटा टिमको सहभागिता रहेको प्रतिस्पर्धा २२ असोजमा सकिनेछ।

प्रकाशित मिति: : 2021-10-05 21:28:00

प्रतिकृया दिनुहोस्