नेपालसँग सीमा जाेडिएकाे भारतीय सहरमा हिंसात्मक झडप: ८ जनाको मृत्यु, कंग्रेस नेत्री गान्धी पक्राउ

एजेन्सी

मुम्बई
Photo: Aajtak

कंग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले सीतापुरको हरगाउँबाट नियन्त्रणमा लिएको युथ कांग्रेसका अध्यक्ष श्रीनिवासले जानकारी दिएका छन्। प्रियंकालाई सेकन्ड बटालियन गेस्ट हाउसमा राखिएको छ।

लखीमपुरको तिकुनिया क्षेत्रमा आइतबार दिउँसो किसान र भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो। झडपमा ८ जनाको मृत्यु भएको छ।

तिकुनियामा आयोजित कुस्ती कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनी आउने क्रममा कृषि कानुनको विरोधमा कालो झण्डा देखाइरहेका किसान र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो।

झडपका क्रममा मन्त्री मिश्राका छोरा आशिष मिश्राले किसानमाथि कार चढाएको आरोप लागेको छ। तिकुनिया मन्त्री मिश्राको गृहनगर हो।

झडपमा मारिएका चार जना किसान र चार जना भाजपा कार्यकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनाका आराेपी राज्यमन्त्रीका छाेराविरुद्ध उजुरी दर्ता भएकाे छ।

प्रकाशित मिति: : 2021-10-04 08:36:00

प्रतिकृया दिनुहोस्