खण्डखण्डमा खुल्यो मनाङ सडक

तस्बीरः बगरछापमा डाँडै भासिएर खसेको पहिरो
तस्बीरः बगरछापमा डाँडै भासिएर खसेको पहिरो

गत १ असारको बाढीले बेँसीशहर-चामे सडक क्षतविक्षत भयो। मोटर त परको कुरा, मान्छे हिँड्न पनि मुस्किल थियो। विस्तारै चामे सडक खुल्ने क्रममा छ। अहिले बेँसीशहरदेखि बगरछापसम्म सिधै गाडी पुग्छ। त्यसपछि २०० मिटर लामो पहिरो छ।

चामेबाट दानाक्युसम्म पनि गाडी ओहोरदोहोर गर्न थालेको छ। चामेदेखि तलेखुसम्मको बाटो पनि खुलेको छ। तलेखुदेखि भ्राताङसम्म भने छिटै सडक खुल्ने अवस्था नरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। करिव एक किलोमिटर क्षेत्रमा ठूला भीर छन्। त्यसलाई ब्लाष्ट गरेर फुटाउनुपर्छ।

‘भ्राताङको भिर खुल्यो। त्यहाँ गाडी चल्ने भयो आजदेखि। त्यो भिर काटेपछि भ्राताङदेखि खाङसारसम्म सजिलै गाडी गुड्छ’, उनले भने, ‘बेँसीशहरदेखि चामेसम्म पनि केही दिनभित्रमा खुल्छ। सबैतिर खुलिसक्यो। बगरछाप मात्र बाँकी हो।’

बगरछापमा करिव २०० मिटर लामो सडकमा पहिरो गएको छ। पानी जमिनमुनिबाट बगिरहेको छ। ‘लेदोलाई ह्युमपाइप राखेर कटाउने र अन्त ढुंगा बिछ्याउने योजना छ। पर्सिसम्म खुल्छ होला’, उनले भने, ‘यो मर्मत अल्पकालीन मात्र हो। तत्काल गाडी चल्ने बाटो गरेका हौँ । पछि राम्रोसँग बनाउनुपर्छ।’

जिल्लास्थित सरकारी टोलीले बगरछाप क्षेत्रको सडक रि-रुट गर्न सुझाव दिएको छ। खोत्रोमा पनि पहिरो खस्ने क्रम जारी छ।

भ्राताङदेखि खाङसारसम्म मनाङ ङिस्याङ गाउँपालिकाले करिव २२ लाख रुपैयाँ लागतमा सडक खोलिएको हो भने बेँसीशहरदेखि चामेसम्मको सडक डुम्रे-बेँसीशसहर-चामे सडक आयोजनाले मर्मत गरेको हो। चामेसम्मको खण्डमा मर्मतका लागि एक करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएकामा उत्तरगया कन्स्ट्रक्सन कम्पनीले ५५ प्रतिशत घटेर ठेक्का लिएको लामिछानेले बताए।

‘सुरुको एक महिना काम गर्नै आएन। आलटाल गर्‍यो । कालोसूचीमा हाल्छौँ भनेर दबाब दिएपछि अहिले धमाधम काम गरिरहेको छ’, उनले भने। अघिल्लो साता खोत्रोसम्म मात्र गाडी चल्थ्यो।

सडक बगेपछि बेँसीशहर-चामे सडकमा व्यवसायीहरूले मनपरी भाडा लिन थालेका छन्। पहिले चामेसम्म एक हजार रुपैयाँ भाडा तोकिएकामा हाल दोब्बर अर्थात् दुई हजार रुपैयाँभन्दा बढी पर्छ। कसैले दुई हजार २०० रुपैयाँसम्म भाडा लिने गरेका छन्। मनपरी भाडा लिएपछि यात्रुहरू मर्कामा परेका छन्। भाडा मीतव्ययी बनाउन जिल्ला प्रशासनले खासै चासो नदिएको स्थानीयको गुनासो छ।

प्रकाशित मिति: : 2021-10-04 06:17:00

प्रतिकृया दिनुहोस्