फेसबुक चलाएको आशंकामा सुकीकी पूर्वअङ्गरक्षक चेरी पक्राउ

सुधा अत्रि

रंगुन, म्यान्मार
Photo : RFA
Photo : RFA

म्यान्मारकी अपदस्त राज्य सल्लाहकार आङ सान सुकीको सुरक्षामा खटिएकी पूर्वअङ्गरक्षक चेरी हठेटलाई सैनिक सरकारले पक्राउ गरेको छ।

नेत्री सुकी सैन्य नजरबन्दमा परेपछि राजधानी नेपिदोस्थित विशेष शाखामा कार्यरत प्रहरी इनिसपेक्टर चेरीलाई यसै साता पक्राउ गरिएको हो।

सैनिक सरकारको उच्च निगरानीमा राखिएकी उनी राजनीतिक ‘कू’अघि सामाजिक सञ्जालमा खूब सक्रिय थिइन्। चेरी एनएलडी नेताहरूनिकट समेत मानिन्थिन्।

म्यान्मार सैनिकले सत्ता हत्याएलगतै उनी सुकीको निवासबाट एक चौकीमा काम गर्न बाध्य पारिएकी थिइन्। सैनिक निर्देशनमा सामाजिक सञ्जाल पूर्णरूपमा बन्द गरी सरकारी काममा खटिएकी उनी पुनः फेसबुकमा सक्रिय भएको पत्ता–लागेपछि पक्राउ परेको बताइएको छ।

पछिल्लोपटक चेरीको फेसबुक एकाउन्टबाट सैनिकविरोधी अनेक पोस्टहरू भइरहेको जुन्ता सरकारका प्रतिनिधिहरूले बताएका छन्। तर ‘चेरी हठेट’ नामक आधिकारिक फेसबुक एकाउन्ट गत मार्चदेखि सक्रिय छैन। प्रोफाइलमा भने ‘कालो फोटो’ राखिएको छ। जसलाई जुन्ता सरकारले नेत्री सुकीप्रति उनको मौन समर्थन रहेको बताउँछ।

राष्ट्रिय एकता सरकारका प्रतिनिधिसँग सम्पर्कमा रहेको आरोप लगाउँदै चेरीलाई म्यान्मार दण्ड संहिताको धारा–५०५ अन्तर्गत राजधानीकै एक हिरासतमा राखिएको छ।

सैनिक सरकारले राष्ट्रिय एकता सरकारलाई एक आतंकवादी संगठनको नाम दिएको छ। नेत्री सुकीको सुरक्षामा लामो समयदेखि खटिएकी चेरी देश तथा विदेशसम्मै पुग्थिन्।

उनी यतिसम्म प्रिय छिन् कि– जन्मदिनको अवसरमा सुकी आफैले डिजाईन गरेर सुनको माला लगाइदिएकी थिइन्। सुकी नेपाल भम्रण जाँदा पूर्वअङ्गरक्षक उनै चेरीसमेत पटक-पटक पुगेकी छन्।

प्रकाशित मिति: : 2021-10-01 10:14:00

प्रतिकृया दिनुहोस्