जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्ने

Photo - REUTERS
Photo - REUTERS

जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन्। लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनी निर्वाचित भएको घोषणा गरेको हो।

जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेकाे निर्वाचन समितिले जनाएको छ। उनका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए। 

नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने संभावना रहेको छ। आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन्। उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्ने छन्। सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन्। 

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन्। उनी प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लागेका हुन्। 

नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ बर्षका भए। उनको जन्म टोकियोकै  शिबुया सहरमा भएको हो। उनी सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहदै आएका छन्। सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नु भएका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए।

जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य थिए। एजेन्सी 

प्रकाशित मिति: : 2021-09-29 14:09:00

प्रतिकृया दिनुहोस्