गण्डकीका मुख्यमन्त्री र युएनडिपी आवासीय प्रतिनिधिबीच भेटवार्ता, गरिबी निवारणका लागि सहकार्यमा जोड

 फाेटाेः भरत कोइराला
 फाेटाेः भरत कोइराला

संयुक्त राष्ट्र संघीय  विकास कार्यक्रम (युएनडिपी)ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले उक्त प्रतिबद्धता जनाएकी हुन्।

गण्डकी प्रदेशका दुई लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युनिडिपीले सघाउने आवासीय प्रतिनिधि आसायनीले बताएकी हुन्।

उनले भनिन्, ‘दुई लाख नागरिक गरिब रहेको तथ्यांक छ, उनीहरुलाई दैनिक कम्तीमा २ सय रुपैयाँ आम्दानी गर्ने बनाउनुपर्ने छ, यसका लागि हामी सहयोग गर्छौं।’

मानव विकास सूचकांकमा गण्डकीको अवस्था राम्रो भएको भन्दै उनले यहाँका असल अभ्यासलाई लुम्बिनी र कर्णालीमा लागु गर्नुपर्ने भनाइ राखिन्। 

मुख्यमन्त्री पोखरेलले युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताए।

उनले भने, ‘गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु। आवश्यक निर्णयका लागि डिआरआरसँग अनुरोध गर्दछु।’

मुख्यमन्त्री पोखरेलले युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि जुन परियोजनामा सहकार्य गर्न इच्छा देखाएकोमा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास दिलाए।

पोखरामा ११ देशका राजदूत: आजको कार्यक्रम ‘हाइकिङ’देखि फेवातालमा डुङ्गा शयरसम्म

‘नव प्रवर्र्तनका क्षेत्रमा, साना तथा मझौला उद्योगको विकासमा, कृषिको आधुनिकीकरण गर्नमा युएनडिपीले सहयोग गरिदियोस् भन्ने हाम्रो चाहाना छ’ उनले भने।

मुख्यमन्त्री पोखरेलले उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण, डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गरे। युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास लगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार यहाँहरुसँग सहकार्य गर्न इच्छुक रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। 

दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र स्थानीयकरणमा युएनडिपीको सहयोग बढाउन आवश्यक देखेको भन्दै उनले यसमा सहयोग प्राप्त हुने अपेक्षा मुख्यमन्त्रीले व्यक्त गरे। दिगो विकास लक्ष्यको स्थानीयकरण, एकीकृत तथ्यांक विकास तथा अनुगमन प्रणाली तयार पार्न र अत्यावश्यक क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्न साझेदारहरुको समन्वय युएनडिपीले गरिदेओस् भन्ने चाहना रहेको उनले बताए।

आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलन गर्न लागेकामा खुसी व्यक्त गर्दै यसका लागि पनि आफूहरु सघाउन तयार रहेको भनाइ राखिन्। नेपाल आउनुअघि मोरक्कोमा रहेर काम गरेकी आसायनीले नर्थ अफ्रिकाका मुलकबाट समेत नेपालले सिक्नुपर्ने बताइन्। मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यासलाई अनुसरण गर्दै दीगो विकासका लक्ष्य प्राप्तिमा नेपाल र प्रदेश सरकार अगाडि बढ्न उनले सुझाव समेत दिइन्।

पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) आवासीय प्रतिनिधि आसायनीले पर्यटन क्षेत्रमा थप पाँच हजार रोजगारी सिर्जना गर्ने, पोर्टर र गाइडलाई कम्तीमा ६५ सय घन्टा काम दिलाउन लक्ष्य रहेको सुनाइन्।

मुख्यमन्त्रीसँगको कार्यक्रममा गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मी, योजना आयोगका उपाध्यक्ष डा. काफ्ले, युएनडिपीको रिजनल अफिस बुटवलका प्रमुख सुदीप अर्याल सहभागी थिए। 

प्रकाशित मिति: : 2021-09-27 15:59:00

प्रतिकृया दिनुहोस्