तालिबानको क्रूरताः हत्या गरेर क्रेनमा शव झुन्ड्याइदियो [भिडियाेसहित]

Photo: AP
Photo: AP

अफगानिस्तानकाे एक शहरमा तालिबानले सार्वजनिक स्थानमा एक व्यक्तिकाे शव झुन्ड्याएर क्रूरताको प्रदर्शन गरेकाे छ।

सञ्चार–स्राेतका अनुसार स्थानीय पत्रकार होनर अहमदको हत्या गरी तालिबानले उनको शव हेरात शहरको मुख्य चोकमा झुन्ड्याएकाे हाे।

शुक्रबार क्रेनमा झुन्ड्याएको शव हेर्न स्थानीय तालिबान समर्थकहरूकाे ठूलो भीड जम्मा भएको भिडियो सामाजिक सञ्जालमासमेत फैलिएको छ।

तालिबान लडाकूहरूले पश्चिमी अफगानिस्तानस्थित मुख्य शहरको चोकमा तीन सन्दिग्ध अपहरणकारीकाे शव ल्याएको एक प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई जनाएका छन्।

स्थानीय व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती तीन जनाको मुठभेडका क्रममा मृत्यु भएको तालिबानले दावी गरेकाे छ।

तालिबानका कुख्यात अधिकारी मुल्ला नुरुद्दीन तुराबीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।

गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ। तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएकाे बीबीसीले जनाएकाे छ।

तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गरेका थिए।

सार्वजनिक हत्या र फाँसीबारे तालिबानले आधिकारिक रुपमा अहिलेसम्म केही बोलेको छैन। तर तालिबानले आफ्नो पुरानो क्रूर नियम लागू गर्न थालेको मानवाधिकार संगठनहरूले बताएका छन्।

तालिबान अधिकारीहरूले अघिल्लो शासन झैँ शरिया कानूनको कडाईका साथ पालना गरिने बताएका छन्। अफगानिस्तानमा इस्लामिक नियम अनुसार सजाय दिइने उनीहरूकाे भनाइ छ।

प्रकाशित मिति: : 2021-09-26 07:00:00

प्रतिकृया दिनुहोस्