प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमणका लागि बुधवार अमेरिकातर्फ प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने उनको कार्यक्रम रहेको छ। साथै, मोदीले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग पनि भेटवार्ता गर्नेछन्।
आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता हुने समाचारमा जनाइएको छ। गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेनले सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक भौतिक रुपमा भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङगलाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतंकवादसंग लड्ने उपायहरुबारे छलफल हुने अपेक्षा गरिएको छ।उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशबीचमा अझै बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ।
प्रधान मन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ। प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नु हुनेछ। प्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिने कार्यतालिका रहेको छ। यस सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन समेत सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री मोदीले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभा (युएनजीए) को ७६ औं सत्रको सम्बोधन गर्नेछन् ।