पर्यावरणीय असरले बदलिंदो तराई 

पृथ्वीको पर्यावरण दिनानुदिन बदलिँदो अवस्थामा छ। यसमा जनसाधारणको ध्यानमा नआए पनि सुक्ष्म दृष्टि राख्ने जो कोहीले पनि महसुस गरेको हुनुपर्दछ। यस भू–मण्डलमा विभिन्न किसिमका प्राणी तथा वनस्पतिको निरन्तर मरण र अवतरण भइरहन्छ।

प्रकृतिविद् तथा प्राणी र वनस्पतिहरुको विशद् अध्ययन गर्ने वैज्ञानिक चाल्र्स डार्बिनका अनुसार केही प्राणी र वनस्पतिहरुलाई प्रकृति स्वयम्ले नै वरण गरेर त्यसको उचित पोषण गर्दछ– ‘एडप्टेसन थ्योरी’।  अर्को थरि प्राणी र वनस्पतिले बाँच्नका लागि स्वयम् सक्षम हुनुपर्दछ– ‘सर्वाइभल अफ द फिटेस्ट थ्योरी’। प्रकृतिको अनुकूलता र प्रतिकूलताप्रति सक्षम नहुने प्राणी तथा वनस्पतिको अस्तित्व लोप हुनु अवश्यम्भावी हुन्छ। 

प्रकृतिको आफ्नो स्वतन्त्र प्रणाली छ। त्यसअनुसार नै माथि उल्लेखित सिद्धान्तअनुसार प्राणी र वनस्पतिको वरण वा मरण हुन्छ। त्यसमा कसैको केही लाग्दैन। कही कतै प्रकृतिको दयालू रुप दृष्टि गोचर हुन्छ भने कहीँ कतै निर्मम रूप दृष्टिगोचर हुन्छ। 

प्राकृतिक आपदाहरु यथा– बाढी, पहिरो, भूस्खलन, भूइँचालो तथा विनाशक आ“धि–बेहरीबाट पर्यावरणमा निश्चित रुपले भयानक उथलपुथल हुन्छ। यस्ता विनाशक तथा भयानक घटनाहरुले वातावरणमा केही ध्वंसात्मक असरलाई निम्त्याउंछ भने न चिताइएको रुपमा कतै रचनात्मक असर पनि पारिरहेको हुन्छ। 

जस्तै–बाढीले मलिलो उब्जाउ माटो थुपारेर दोयम माटोलाई अब्बल माटोको रुपमा परिणत गरिदिएर मलिलो उब्जाउ बनाइदिन्छ। 

त्यस्तै भूकम्पले धनमालको व्यापक क्षति गरेको पाइन्छ भने भूगोललाई नै बदलिदिएको पनि पाइन्छ। विनाशपछि रचना कार्य प्रकृतिको स्वविवेक र स्वतन्त्र प्रणाली अनुसार चलेको हुन्छ। 

प्रकृतिलाई आफ्नो क्रियाकलापमा कसैको कुनै पनि किसिमको हस्तक्षेप सह्य छैन तर प्रकृति आश्रित मानव स्वभाव प्रकृतिको क्रियाकलापको अनुविक्षण, निरीक्षण र परीक्षण गरेर आफ्नोअनुकूल बनाउने प्रवृत्तिमा लागेको हुन्छ। 

वास्तवमा आदिम अवस्थादेखि नै मानव र प्रकृतिको यो लडाइँ अनवरत रुपमा आजसम्म पनि निरन्तर चालू छ। यस लडाइँकै दुष्प्रभाव पर्यावरणमा परिरहेको हुन्छ।

पर्यावरण दिनरात बदलिँदो छ। बिगिंँदो छ। संसारभरिका प्रकृतिविद् तथा वैज्ञानिकहरुको चिन्ता बढ्दो छ। संसारभरिमा हाई–हाई मच्चिएको छ। 

त्यसैको परिणामस्वरुप कहिले समुन्द्रमुनि त कहिले हिमालयमाथि, कहिले अण्टार्टिकामा त कहिले वैज्ञानिक प्रयोगशालामा वा जमीनमुनि बैठक बस्दछ। नाना विधिको प्रयोग हुन्छन्। विषय हुन्छ– ‘ग्लोबल वार्मिङ’को कारण भएको तथा भइरहेको ‘ओजोन’ परतको प्वालले उत्पन्न हुने अन्तरग्रहीय सन्तुलन तथा भूमण्डलको पर्यावरणीय समस्या !

यी समस्या र चिन्ता निःसन्देह वैज्ञानिकहरुको हो। कुरा साँचो हो। दैनिक आर्जन गरेर विहान बेलुका हातमुख जोड्ने जनसाधारणहरुलाई यसले के नै फरक पार्दछ र? दैनन्दिन जीवनमा यस्ता समस्याहरुले कुनै खासै असर पारेको देखिँदैन। तर थाम्नुस्, दैनन्दिन जीवनमा वास्तवमा यसले कुनै असर पार्दैन र? 

५० वर्ष पुगिसकेका जनसाधारणलाई यस पंक्तिकारका केही प्रश्नहरु छन्– यस शताब्दीको ३०–४० को दशकसम्ममा कार्तिक महिना (दशैं–तिहारको बीचको समयमा) को बेलुकीपख उत्तरी आकाशको विस्तृत उचाइमा क-याङकुरुङ कराउँदै लामबद्ध रुपमा दक्षिणाभिमुख उडिरहेका (घा“टो) काकाकूलहरुको ता“ती खोई? जाडो रातहरुमा खरबारीमा समवेत् स्वरमा खें..खें..खें..खें..कराउने खेंखर (फ्याउरो) को आवाज अचेल किन सुनिँदैन? 

बसन्त ऋतुका रातहरुमा आ“पको बगैँचामा अचानक घ्यार.. घ्यार.. घेर.. घेर.. को आतुर आवाजमा कराउने ‘राँडी चरी’ कुनै अन्य ग्रहका चराका साथमा पोइल गई कि क्या? भदैया धानको रेँडा (धानको गाभा) कुतरेर किसानहरुको कन्तबिजोग गर्ने बिलगोहीहरुलाई के भयो? 

भदैया धानको बाला निस्किने बेला कतै पनि किसानहरुले टीन वा ढ्याङ्ग्रो ठटाएको आवाज अचेल सुनिँदैन, किन? आश्विन कार्तिक महिनाको घमाइलो दिनको स्वच्छ र सफा विस्तृत आकाशको उचाइमा पखेटा फिँजाएर मनग्य सिनो खाएका चराहरु अल्छि मानी–मानी कावा खाइरहने गिद्ध खोई? बजारवाट मासु किनेर घर फर्किने बेलामा चिल्ह चराको झम्ट्याइवाट बच्न आवश्यक सुरक्षाको बन्दोबस्त गर्ने दिनहरु कता गए? चिल्ह चराको झपटाको कुरै छाडौं, चिल्ह चराको नाक मुख देखेको पनि दशकौ भइसक्यो। 

खोई खरबारीका लमकन्ना खरायाहरु? किसानहरुको आलू बालीमा दुलो खनेर बाली बिगारिदिने का“ढादार दुम्सीहरुको अवस्था के भयो? तराईका जिरात, सिमसार र गहिरी खेतहरुमा आहाराको खोजीमा उत्रिने सारस, जाङ्घी, धनेश, गरुडजस्ता लमखुट्टा चराहरु अचेल कता उत्रिन्छन्? 

पूर्वा र उत्तरा नक्षत्रमा तराईका धानका खेतहरुमा छ्याप्छ्याप्ती पाइने ढालो, सउरी, कउवा र बोआरी माछाहरु कता गए? भदैया चामलको भात र धानमाछाको तरकारी तराई क्षेत्रका गरीब र मध्यम वर्गीय मानिसहरुको विलासी खानाको परिकार हुन्थ्यो। वनस्पतिहरुबारे भन्ने हो भने ठोकडा, थुकहा, हुरहुर र गुम्माजस्ता खरहरु खेत बारीबाट बिदा भइसके। 

यी जम्मै प्राणी र वनस्पतिहरुको लोप भइसक्यो? आजका नवयुवक पिढीले यी कुराहरुमा विश्वास गर्न कठिन लाग्नसक्छ। उनीहरुले संभवतः यी चरा चुरुङ्गी, सरीश्रृप, माछा तथा उभयचर प्राणी र वनस्पतिहरुलाई देखेकै छैनन् होला।

के भए ती प्राणी र वनस्पतिहरु? किन प्रकृतिका यी सुन्दर धरोहरहरु लोप हुन पुगे त? 

जवाफ साधारण छ– रक्तबीजझैं निरन्तर बढ्दो जनसंख्या। खेती गर्न योग्य जमीन पृथु महाराजले गरिदिएको व्यवस्थाभन्दा आजसम्म तीलको गेडो जति पनि बढ्न सकेको छैन भने खाने मुख दिन दुना रात चौगुनाको क्रममा बढदो छ। 

यस अवस्थामा उपलब्ध जमीनमा नै जम्मै मुखलाई पुग्ने अन्न उब्जनी गर्न बाध्यता छ। फलस्वरुप अन्नको उन्नत बिउको अनुसन्धान गरेर बढी उब्जा दिने अन्नको खेती गर्न बाध्यता किसानहरुको सामुने तेर्सियो। 

उन्नत बिउबाट बाञ्छित उब्जनी हासिल गर्नको लागि आधुनिक रासायनिक मल, किटनाशक औषधि, विभिन्न किसिमका इञ्जाइम, भिटामिन तथा कल्चरहरुको आवश्यकता पर्दछ। 

यी वैज्ञानिक कुराहरु अशिक्षित किसानहरुलाई थाहा हुने कुरै भएन। अरु किसानहरुले के गरी बढी उब्जनी गरे। त्यसकै सिको गरी किसानहरुले अन्धानुकरण गरेर जथाभावी मनपरी ढंगले आधुनिक रासायनिक कृषि सामग्रीहरुको प्रयोग गर्न बाध्य हुनुप-यो। 

उन्नत बिउ बिजन, रोग अनुसारको विषादी तथा अन्य आवश्यक कुराहरुको मात्रा, परिणाम र अवसरको बारेमा उचित परामर्श तथा नियन्त्रण कहीँ कतैबाट न भएको हुनाले यस्ता पर्यावरणीय दुष्परिणाम अवश्यम्भावी हुने नै भयो। वर्तमान समयमा स्थिति यो छ कि लठीले मर्नसक्ने शत्रुमाथि बन्दूकको प्रयोग तथा बन्दूक चाहिने ठाउँमा तोपको प्रयोग भइरहेको छ। 

यस्तो अवस्थामा पर्यावरणमा असन्तुलन वा प्राणी र वनस्पतिको स्वास्थ्यमा प्रतिकूल असर पर्दैन र? ती प्राणी र वनस्पतिको लोप हुनुमा केको आश्चर्य? हेर्दै जाऊँ, प्रकृतिसितको यस प्रकारको खेलवाडले पृथ्वीबाट मानव वंश लोप हुनमा कति समय लाग्ने छ? संभवतः त्यो समय अब धेरै टाढा भएजस्तो लाग्दैन।

प्रकाशित मिति: : 2021-09-19 07:48:00

प्रतिकृया दिनुहोस्