मोदीको 'बर्थ-डे'मा एकैदिन दुई करोड ५० लाख नागरिकले लगाए कोरोनाविरूद्धको खोप

Photo : PTI
Photo : PTI

भारत सरकारले एकैदिन २ करोड ५० लाख आफ्ना नागरिकलाई कोरोनाविरूद्धको खोप लगाएर नयाँ कीर्तिमान कायम गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नाे ७१औँ जन्मोत्सवको अवसरमा साढे दुई करोडभन्दा बढी भारतीयलाई खोप उपहार दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोदीको जन्मदिनमा भारतले नयाँ इतिहास रचेको दावी गर्दै संघीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाले सामाजिक सञ्जालमार्फत् आफ्नै सरकारलाई बधाई व्यक्त गरे।

सरकारले एकैदिन ठूलो संख्यामा कोरोनाविरूद्धको खोप लगाउन सकेको बताउँदै भारतले इतिहासमा स्वर्णिम नाम लेखाएको भारतीय जनता पार्टी समर्थकहरूले दावी गरेका छन्।

कराेडाैं भारतीयलाई एकैदिन कोरोनाविरूद्धको खोप लगाएको जनाउँदै चीनलाईसमेत पछि पारेको भारतको दावी छ। दुई करोड ५० लाखभन्दा बढी मानिसलाई एकैदिन आजसम्म कुनै पनि देशले खोप नलगाएको उसको भनाइ छ। यसबारेमा मोदीले समेत ट्वीटमार्फत् खुशी व्यक्त गरेका छन्।

बीजेपीले प्रधानमन्त्री मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउन देशभर उर्दी जारी गरेको थियो। प्रधानमन्त्रीको जन्मदिन अभियानलाई प्रभावकारी बनाउन हिन्दूवादी नेता कैलाश विजयवर्गीको नेतृत्वमा चार सदस्यीय समितिसमेत बनाइएको थियो।

शुक्रबार मोदीको जन्मदिन उत्सव मनाइरहँदा प्रमुख विपक्षी कंग्रेसले भने ‘राष्ट्रिय बेरोजगार दिवस’को संज्ञा दिएको छ। भारतीय प्रधानमन्त्रीको ७१औँ जन्मदिनको अवसरमा ‘नमो टिका अभियान’को एकातर्फ तारिफ छ भने अर्कोतिर तीव्र आलोचना भइरहेको छ।

भारतीय किसान नेता इन्दरजीत सिंहले मोदी समर्थकप्रति निन्दा व्यक्त गरेका छन्। ‘साढे नौ महिनादेखि किसानहरू सडक आन्दोलनमा उत्रिएका छन्। मोदी नेतृत्वको सरकारले उनीहरूमाथि दमन गरिरहेको छ,’ उनले भने, ‘किसानविरोधी प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सव विशेष कार्यक्रम चलाउने कुरा दुभाग्यपूर्ण छ।’

प्रकाशित मिति: : 2021-09-18 09:06:00

प्रतिकृया दिनुहोस्