शरण पर्नुपर्ने संविधान बनाएर सुम्पिइदिए दलहरूले, अब त टाउकामा हात राख्नुबाहेक उपायै के छ र ?
तेह्रौं शताब्दीका पर्सियन कवि रुमीले भनेका थिए, ‘यदि अर्कालाई खसाल्न भड्खालो खन्नुभयो भने, त्यसमा स्वयं तपाईं पर्नु हुनेछ।’
हाम्रो देशमा संविधान दिवस आउन दुई दिन बाँकी छ। ६ वर्षसम्म संविधान–अभ्यासको अनुभूतिसँगै राजनीतिक धरातलमा केही यस्ता भड्खाला देखा परेका छन्, जहाँ शीर्ष शक्ति नै कि परिसकेका छन्, कि पर्ने जोखिममा छन्। दोष संविधानको होइन, निर्माताको हो। हर्ताकर्ताको हो।
ठूला दलका शीर्ष नेताहरूले भनेका थिए– संविधानको मूल मर्म राजनीतिक स्थिरता हो। परिणाममा झन् अस्थिरता बढेको छ। दलहरूलाई चट्टानझैं बलिया बनाउने परिकल्पना यो संविधानले गरेको थियो। ती त खरानीका घरझैं फुसफुस भत्किइरहेका छन्।
जनताले जिताएको जम्बो पल्टनले दुई कार्यकाल लगाएर बनाएको संविधानका धारा–उपधाराले, अहँ, रोक्न सकेको छैन। दलहरू चोइटै चोइटा हुने जोखिम झन्पछि झन् बढ्दो छ।
शक्ति पृथकीकरण र आंगिक सन्तुलन नेपालको संविधानका थप सुन्दर विशेषता ठानिएका/मानिएका थिए। तर, त्यो सुन्दरता खिइँदै गएको आभास हुन्छ। एकले अर्काको सेखी झार्न अदालतको हारगुहार गर्ने चलखेलका कारण राजनीतिक शक्तिहरू शक्तिविहीन बन्दै गएका छन्। न्यायपालिका सर्वाधिक शक्तिशाली, कार्यपालिका काम्रो बाँधिएको र व्यवस्थापिका आशामुखीजस्ता प्रतीत हुन थालेका छन्।
यसमा पनि दोष न्यायपालिकाको होइन, राजनीतिक नेताहरूकै हो। शरण पर्नुपर्ने संविधान बनाएर सुम्पिइदिए दलहरूले, अब त टाउकामा हात राख्नुबाहेक उपायै के छ र ? तैपनि आफैंले खनेको भड्खालामा आफैं परिरहेको अनुभूत गर्न सकेका छैनन् तिनले। एउटा सहयात्री खाल्डामा खस्दा खितिती हाँसिरहेका मात्र छन्, हालसम्म। जब आफैं पर्छन्, तब मात्र त्यसको गहिराइ देख्नेछन्।
आउनुहोस्, यहाँ केही यस्ता भड्खालाको चर्चा गरौं, जसले राजनीतिक दुर्घटना निम्त्याएका छन् वा सम्भावित हुन सक्छन्। सजग भएर सुरक्षित गन्तव्य तय गर्न पनि सक्छन्।