पर्वअनुसार मूर्ति बनाएर परिवार धान्दै मधेशका कालिगढ

Breaknlinks
Breaknlinks

कलैयाका कालिगढहरुले विभिन्न देवीदेवताहरुको मूर्ति बनाएर मनग्‍य आम्दानी गरी परिवार पाल्दै आएका छन्।

चाडपर्वअनुसार ग्रामीण भेगका कालिगढहरुले शहरी क्षेत्रमा आएर यसरी विश्वकर्मा, सरस्वती, दूर्गा, गणेश लगायतका मूर्ति बनाएर आम्दानी गर्ने गरेका छन्।

असोज १ गते शुक्रबार हुने विश्वकर्मा पुजा महोत्सवका लागि बारा जिल्ला लगायतका तराई–मधेशका विभिन्न ठाउँमा विश्वकर्मा भगवानको मूर्ति बनाउने कालिगढहरु ब्यस्त देखिएका छन्।

कलैया उपमहानगरपालिका वडा नम्बर–१ बस्ने सुरेन्द्र प्रसादले यसपालि तीस बढी विश्वकर्मा भगवानको मूर्ति बनाए। करिब एक महिनाको मेहनतले लाखौ रुपैयाँ कमाउनको लागि उनी दिनभरि मूर्ति बनाउनमा व्यस्त भएका हुन्।

कलैया–७, बैरिया टोलका ३२ वर्षीय रामकिशोर राम पनि मूर्ति बिक्री गरेर एक महिनाको मेहनतले लाखौ रुपियाँ कमाउने लक्ष्य राखेको बताउँछन्। कम्तिमा दुई हजारदेखि पाँच हजारसम्ममा विश्वकर्माको मूर्ति बिक्री गरिने सम्झौता भएको उनले  बताए।

काम तथा रोजगार नपाएर मनमा लागेको जिज्ञासा अनुसार विगत आठ वर्षदेखि यसरी गुरुबिना आफैँले विभिन्न सिजनमा माटोको मूर्ति बनाएर आठ जनाको परिवार पाल्दैआएको रामले सुनाए।

यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर–२७ मौजे रामपुर टोलका ५६ वर्षीय शम्भु ठाकुर हजामले पनि बाल्यकालदेखि नै मूर्ति बनाएर परिवार पाल्दैआएका छन्। उनले दुई 'पाटनर'को सहयोगमा यसवर्ष ४१ वटा विश्वकर्मा भगवानको मूर्ती बनाएको जानकारी दिए।

'हामीहरु चार जनाको समूहमा महायज्ञ, मेला र सिजनल मूर्ति बनाउने गरेका छाैँ', महागढीमाई नगरपालिका वडा नम्बर–६ वर्वापर्सा बस्ने रामनरेश पडित कुम्हाल, कलैया उपनपा.–४ का सुरेन्द्र प्रसाद र वडा नम्बर–७ बैरिया टोलका ३२ बर्षिय रामकिशोर राम रहेका ठाकुरले बताए।

यसैगरी पर्सा धोबिनी गाउँपालिका–६ लंगडी टोल निवासी नरेश बैठाले वीरगंजमा यसबर्ष तीन जनाको समूहमा सामूहिक रूपमा सयभन्दा बढी सरस्वतीको मूर्ती बनाएर तीन लाख बढी आम्दानी गर्ने लक्ष्य राखेको बताए। कम्तीमा डेढ हजारदेखि १० हजारसम्मको मूर्ती बिक्री सम्झौता दैनिक रूपमा भएकाे उनकाे भनाइ छ।

सोही ठाउँ भिखमपुर निवासी कमलेश महतोले पनि रानीघाटमा ३० बढी मूर्ती बनाई रहेका छन्। मूर्तिको आम्दानीबाट नै ५ जनाको परिवार पाल्दै २ छोरी तथा एक छोरालाई निजी विद्यालयमा पढाइ रहेको महतोले जानकारी दिए।

विश्वकर्माको मूर्ति बनाउने कार्यमा महतो, बैठा मात्र नभएर उनीहरुजस्तै कलैया, वीरगञ्‍जलगायतका ठाउँहरुमा नेपाली तथा भारतीय कालिनगढहरुले सिजनअनुसार मूर्ती बनाएर परिवार पाल्दै आएका छन्।

यसरी प्रत्येक सिजनमा कलैया, वीरगञ्ज, गौरलगायतका ठाँउहरुमा विश्वकर्मा, सरस्वती, दुर्गा भवानी, गणेशलगायतका माटो तथा सिमेन्टका मूर्ती बनाएर स्थानीय (मूर्तिकार) कालिगढहरुले आम्दानी गर्नेगरेका छन्।

प्रकाशित मिति: : 2021-09-17 13:39:00

प्रतिकृया दिनुहोस्