ट्राफिक प्रहरी कार्यालय उदयपुरद्वारा १ करोड २६ लाख राजस्व संकलन

file foto
file foto

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २६ लाख ५ हजार ५ सय राजश्व संकलन गरेको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा २५ लाख ११ हजार ५ सय बढी राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघन गर्ने २० हजार ६ सय सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको  हो। कारबाहीमा पर्नेमा सबै भन्दा बढी मोटरसाइकल चालक र त्यसपछि क्रमशः जीप, ट्रक तथा टिपर चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले बताए।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबै भन्दा बढी चैत्र महिनामा २ हजार ३ सय सवारी कारबाहीमा परेका छन्। जसबाट १४ लाख ६ हजार पाँच सय राजश्व उठेको थियो। यसै गरी सबै भन्दा कम ज्येष्ठ महिनामा ३ सय सवारी कारबाहीमा परेको छ। त्यसबाट २ लाख ४ हजार राजस्व संकलन भएको थियो। 

 ७ हजार ९ सय ७० मोटरसाइकल चालक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयसँग तथ्याङ्क छ। मोटरसाइकल चालक कारबाही बापत ५० लाख २५ हजार पाँच सय राजश्व उठेको छ।

यस्तै ४ हजार ६ सय एक ट्रक तथा टिपर कारबाही बापत २८ लाख २४ हजार राजश्व संकलन भएको छ। ३ हजार ५ सय ७७ जीप कारबाही बापत २१ लाख ३३ हजार राजश्व उठेको छ।

१ हजार ७ सय १२ ट्याक्टर कारबाही बापत १० लाख ६५ हजार रुपैयाँ राजश्व नेपाल सरकारको नाममा जम्मा भएको छ भने ५ सय ६१ बसलाई कारबाही बापत ३ लाख ४१ हजार पाँच सय राजश्व संकलन भएको छ। यस्तै २ हजार १ सय ४१ अटोबाट ११ लाख ९५ हजार पाँच सय राजश्व संकलन भएको छ।

कोरोना भाइरसका कारणले लक्ष्य भन्दा कम राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-14 21:25:00

प्रतिकृया दिनुहोस्