सिलादीमा वन नर्सरी : बिरुवा उत्पादनसँगै रोजगारी

File photo
File photo

गुल्मीको मालिका गाउँपालिका–७ घमिर सिलादीकी देविका अर्याल केसी विगत एक वर्ष तीन महिनायता व्यस्त छन्। सिलादीमा स्थापना भएको सिलादी वन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने र बिरुवा सार्ने उनको दैनिकी बनेको छ। 

तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि तीन जना छोराछोरीलाई हुर्काउँदै आएकी उनलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो। तर घरछेवैमा वन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ। कारण हो, वन नर्सरीमा रोजगार पाउनु। 

'पहिलेपहिले घरखर्च चलाउन निकै गाह्रो थियो, त्यही बेला वन नर्सरी स्थापना भयो' उनले भने, 'नर्सरीमा काम पाउँदा खुसी लागेको छ।' उनले पहिलेपहिले मासिक १० हजारमा काम गर्दै आएकामा अहिले भने दैनिक ३५० मा काम गर्दै आएका छन्। 

नर्सरी केन्द्रमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेललगायत सामाग्री जोहो गर्न सहयोग पुगेको उनको भनाइ छ। बिरुवा नर्सरी केन्द्र स्थापना भएदेखि नै उनी काममा लागेका हुन्। 

मालिका गाउँपालिका–८ किसनटारीकी २८ वर्षीय सीता खनाल पनि दिउँसोमा बिरुवा नर्सरी केन्द्रमै काम गर्छन। नयाँ बिरुवा जमाउने, सार्ने, गोडमेल गर्ने, बिरुवामा पानी राख्नेलगायतका काम गर्छन। 

'पहिले त दैनिकजसो नै काम हुन्थ्यो, तर अहिले महिनाको १५÷२० दिनसम्म काम हुन्छ' उनले भने, 'घरमा खाली बस्नुभन्दा यहाँ धेरै राम्रो छ।' उनका श्रीमान रोजगारीका लागि विदेशमा छन्। घरमा सासू र छोराछोरी छन्। केन्द्रमा काम गरेको रकमले घरखर्च चलाउन श्रीमानकै आश गर्नु नपरेको उनले बताए। उनले महिनाको १० हजारसम्म कमाउछन। नियमित वन नर्सरीमै काम पाए गर्ने योजना रहेको उनले सुनाए।

देविका र सीता केन्द्रमा काम गर्ने प्रतिनिधिमूलक पात्र मात्रै छन्। माघदेखि वैशाखसम्मको समयमा केन्द्रमा काम बढी हुन्छ। नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, नर्सरीमा रहेको बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्नेलगायत काम हुन्छन्। 

उक्त समयमा दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेको मदाने मालिका सबडिभिजन वन कार्यालयका वन रक्षक छविलाल अर्यालले जानकारी दिए। 

यसरी मालिका गाउँपालिका–७ घमिर सिलादीमा वन नर्सरी स्थापना हुँदा एकातर्फ बिरुवा उत्पादन भएको छ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना भएको छ।

हालसम्म वन नर्सरीमा एक हजार १७५ दिनको काम भएको र उक्त कामबापत स्थानीयले सात लाख ९९ हजार प्राप्त गरेका छन्। एक नर्सरी नाइकेले नौ महिनाको ७० हजार प्राप्त गरेका छन्। 

६० हजारमध्ये ४२ हजार वितरण

पाँच रोपनी क्षेत्र ओगटेको नर्सरी केन्द्रमा २७ प्रजातिका बिरुवा लगाइएको छ। राइखन्नु, किम्बुलगायत घाँस, टिमुर रुख कटहरलगायतका फलफूल, चाँप, धुपी, पारिजात लगायत फूल एवं काठजन्य प्रजातिका बिरुवा केन्द्रमा पाइन्छन्।

केन्द्रमा सल्यान, प्यूठान, इटहरी, पोखरा, काठमाडौंलगायतका स्थानबाट बीउ ल्याई बिरुवा जमाइएको छ। नर्सरीको स्थापना हुँदा ६० हजार बिरुवा जमाइएको थियो । तीमध्ये अहिले ४२ हजार १३३ बिरुवा वितरण भइसकेका छन्।

सबैभन्दा धेरै चाप ३० हजार ८३६ जमाएकामा २५ हजार ८१९ वितरण गरिएको छ। सबैभन्दा कम अशोका पाँच जमाएकामा सात वटा मात्रै वितरण गरिएको वन रक्षक अर्यालले जानकारी दिए। नर्सरीबाट सबै बिरुवा निःशुल्करुपमा प्राप्त गर्न सकिन्छ। अहिलेसम्म ८१० व्यक्तिले बिरुवा लगेको अर्यालले बताए।

केन्द्रमा लगाइएका बिरुवा मालिका गाउँपालिकासँगै मदाने, इस्मा, धुर्कोट, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत विभिन्न स्थानमा वितरण गरिएको छ।

त्यसका साथै विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, व्यारेक, पालिकाका कार्यालय तथा रेसुङ्गा क्षेत्रमा समेत बिरुवा पु¥याइएको जिल्ला वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए।

बिरुवा नर्सरी केन्द्रको स्थापनाका लागि सिलादीमा केही संरचना निर्माण गरिएको छ। तेह्र मिटर चौडाइ र २४ मिटर लम्बाइको ग्रिन हाउस, बिरुवा उमार्ने टनेल, टिमुरको टनेल, भवन, गोल घर, गेट तथा नर्सरी वरिपरि तारवार लगाइएको छ।

उक्त कामका लागि आर्थिक वर्ष ०७६/७७ मा १० लाख तथा ०७७/७८ मा १० लाख खर्च भएको वन कार्यालयका प्रमुख सापकोटाले बताए। खाली रहेका जग्गामा लोपोन्मुख प्रजातिका बिरुवा लगाउने उद्देश्यले ०७६ चैतमा नर्सरीको स्थापना गरिएको थियो।

त्यसका साथै उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने पनि नर्सरी स्थापना गर्नुको उद्देश्य रहेको वन कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-09-14 19:09:00

प्रतिकृया दिनुहोस्