पेरूका माओवादीनेता गोञ्जालो अर्थात् कैदी नम्बर १५०९: जो पक्राउ पर्दा काठमाडौंमा आन्दोलन गरेका थिए नेपालका माओवादीले

फाइल तस्वीर
फाइल तस्वीर

सन् १९९२ को सेप्टेम्बर २०। उक्त दिन पेरुको सशस्त्र विद्रोही माओवादी पार्टी ‘साइनिङ पाथ’ का अध्यक्ष ‘गोञ्जालो’ पक्राउ परेका थिए। त्यसको ठीक २९ वर्षपछि २०२१ सेप्टेम्बर ११ का दिन उनको निधन भएको छ–बन्दी अवस्थामै। पछिल्लो करिब चार महिनादेखि उनी पेरुकै एउटा अस्पतालमा उपचार गराइरहेका थिए।

२९ वर्षअघि जतिबेला गोञ्जालो पक्राउ परेका थिए, त्यसपछि सन् १९९२ को सेप्टेम्बरमा काठमाडौंका भित्ताहरुमा पोष्टरले रंगिएका थिए– ‘गोञ्जालोलाई रिहा गर्’ लेखिएका पोष्टरले। काठमाडौंका वामपन्थी विद्यार्थी र नवयुवा सबैले गोञ्जालोलाई आफ्नै नेतासरह ठानेका थिए।

काठमाडौंमा समर्थक

विशेषगरी तत्कालीन ‘एकताकेन्द्र–मसाल’ (पछि नेकपा माओवादी र संयुक्त जनमोर्चा) स्कुलिङका विद्यार्थीहरुले गोञ्जालोलाई आफ्नै नेतासरह बुझेका थिए। त्यसबेला डा. बाबुराम भट्टराई, पम्फा भुसाल, यानप्रसाद गौतम (स्व.), हिसिला यमीहरु पनि त्यसबेला गोञ्जालोको गिरफ्तारीविरुद्ध रिहाइको माग गर्दै पोस्टरिङ गर्ने समूहका नेताहरुमा पर्थे। जनमोर्चाको कार्यालय रहेको ललितपुरको पाटन ढोका क्षेत्र र काठमाडौंको रत्नपार्क, खुलामञ्च क्षेत्र, कलेजहरुमा उक्त पोस्टर टाँसिएका थिए।

नेकपा चौथो महाधिवेशनका नेता निर्मल लामा, अमिक शेरचन, लीलामणि पोखरेललगायतका नेताहरु गोञ्जालोको पक्षमा सडकमा देखिन्थे। भाषण हुन्थ्यो– उनको पक्षमा। जेलभित्र राखिएका गोञ्जालोको तस्बिरलाई पोस्टर बनाएर भित्ताभरि टाँसेका थिए। उनका क्रान्तिकारी कथाहरु कम्युनिष्ट कार्यकर्ताले ध्यान दिएर सुन्थे– बुढापाकाले ‘पुराण’ सुनेजसरी।

अहिलेजस्तो प्रविधिको विकास त भएको थिएन तथापि त्यसबेलाका साप्ताहिक वामपन्थी अखवारहरुले गोञ्जालोबारे पेज भरि–भरिका लेख–सामग्री छाप्थे। उनको ‘क्रान्तिकारी’ जीवनगाथा प्रकाशित गर्थे। शायद् त्यो काम सशस्त्र द्वन्द्वको तयारी गरिरहेको माओवादीले गरिरहेको थियो।

गोञ्जालो को हुन् ? उनले कसरी क्रान्ति गरे ? पेरुका तत्कालीन पुँजीवादी राष्ट्रपति अर्नेष्टो फुजिमोरी सरकारले कति तलामुनि कस्तो कठोर जेल बनाएर राखेको छ ? कति कठोर पहरा दिएको छ ? यस्तै ‘क्रान्तिकारी’ कथाहरु छापिन्थे ती नेपाली अखबारमा।

२९ वर्षपछि उनको ‘गुमनाम’ मृत्यु भएको छ– ल्याटिन अमेरिकी मुलुक पेरुको राजधानी लिमास्थित एक अस्पतालमा बन्दी अवस्थामै। आजीवन कारावासको सजायस्वरुप बन्दी जीवन बिताइरहेका यी माओवादी नेतालाई बन्दी अवस्थामै अस्पताल भर्ना गरिएको थियो– करिब चार महिनाअघि। शायद् जमीनमुनिको कठोर कारागार बसाइका कारण होला, उनी छालाको क्यान्सरबाट पीडित थिए।

जतिबेला उनी जेल परेका थिए, त्यसबेला उनको रिहाइको माग गर्ने काठमाडौंमा प्रशस्त थिए। तीन दशकलामो कठोर सजायपछि जेलजीवनमै मरेका उनको पक्षमा काठमाडौंमा कोही पनि बोलेको सुनिँदैन। पक्राउका बेला उनको रिहाइको माग गर्ने नेताहरुमध्ये निर्मल लामा, यानप्रसाद गौतम त संसारबाट बिदा भइसकेका छन् तर त्यसबेलाका खुल्लामञ्चमा पक्राउविरुद्ध खुलामञ्चमा भाषण गर्ने डा. बाबुराम भट्टराई, पम्फा भुसाल वा लीलामणि पोखरेलले पनि उनको समर्थनमा बोलेको सुनिएन। 

गोञ्जालो पक्राउ परेका बखत आफूलाई नेपाली गोञ्जालो सम्झने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनको मृत्यु हुँदा ‘पुँजीवादी सत्ता’ को पटक–पटक प्रधानमन्त्री बनिसकेका छन्, त्यसैले उनी अहिले गोञ्जालोको बन्दी अवस्थामै भएको मृत्युविरुद्ध पहिलेकै स्वरमा बोल्नसक्ने योग्यताका रहेनन् शायद्।

प्रचण्डले सबैभन्दा बढी अनुकरण गरेका नेता थिए गाेञ्जालो । उनले वक्तव्यबाट दु:ख व्यक्त गरे– सामाजिक सञ्जालबाट । माओवादीबाट छुट्टिएको नेत्रविक्रम चन्द 'विप्लव'  नेतृत्वको नेकपाले गोञ्जालोको निधनप्रति दुःख व्यक्त गरेको छ– पुरानै भाषामा।

को हुन् गोञ्जालो

पेरु कम्युनिस्ट पार्टी 'साइनिङ पाथ' का अध्यक्ष हुन् उनी। पेरु आयाकुचो सान कृस्टोबल डी हुआमाङ्गा नेसनल युनिभर्सिटीका दर्शनशास्त्रका प्राध्यापक थिए। सशस्त्र द्वन्द्वमार्फत् पेरुको राजधानी लिमाबाहेक ८० प्रतिशत भूभाग कब्जा गरिसकेका थिए। राजधानी कब्जा गर्न लिमा प्रवेश गरेका बखत उनी पक्राउ परेका थिए।

माओवादी शान्ति प्रक्रियामा आउने बखत पेरुको माओवादी आन्दोलन ध्वस्त भएको घटनालाई खराब उदाहरण मानेर त्यसबाट शिक्षा लिएको बताउँथे। सन् १९९२ सेप्टेम्बर २ मा राजधानी लिमाबाट पक्राउ परेका गोञ्जालोलाई त्यहाँका तत्कालीन राष्ट्रपति अर्नेस्तो फुजिमोरी सत्ताले आजीवन कारागारको सजाय सुनाइएको थियो।

गोञ्जालो विगत २९ वर्षदेखि जेलमा थिए। छाला क्यान्सरका बिरामी ८६ वर्षीय गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको भूमिगत गोलघरमा घरमा १२ सेप्टेम्बर १९९२ देखि राखिएको थियो। जसको २९ वर्ष पुगेकै दिन उनले भौतिक संसार त्यागे।

नेपालमा समेत उनको परिचय 'कैदी नम्बर १५०९' नेपाली वाम कार्यकर्तामा पनि प्रख्यात थियो। नेपालमा पनि माओवादीहरुले 'कैदी नम्बर १५०९' भनेर कथा, कविता र गीतहरू लेखेका थिए।

पेरुमा माओवादी सशस्त्र द्वन्द्व सन् १९८० देखि १९९९ सम्म चल्यो। गोञ्जालोसहित उक्त पार्टीका शीर्ष नेताहरुको पक्राउपछि कमजोर भयो– साइनिङपाथ। त्यसको सात वर्षपछिसम्म सशस्त्र द्वन्द्व जारी राखे। त्यसपछि लगभग अन्त्य भएको छ।

उक्त अवधिमा पेरुमा करिब दुई हजार नौ सय सशस्त्र हमला गरेका थिए माओवादीले।  जसमा ४३ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। २६ हजार दुई सय ५९ जना अझै बेपत्ता छन्।

सन् १९८८ मा पेरुभेली कम्युनिस्ट पार्टी– साइनिङपाथको पहिलो महाधिवेशन भएको थियो। उक्त महाधिवेशनबाट 'गोन्जालो विचार' को प्रादुर्भाव भएको बताइएको थियो। यसैको सिको गर्दै माओवादीले ०५७ सालमा 'प्रचण्डपथ' को प्रादुर्भाव भएको घोषणा गरेका थिए।

महाधिवेशनलगत्तै गोन्जालोले एल डायरियो पत्रिकामा लामो अन्तर्वार्ता दिएका थिए, जुन विश्वभरि चर्चित बन्यो। यसलाई नेपालीमा अनुवाद गरी यहाँका माओवादीले पुस्तक नै छापेका थिए– 'पेरुमा जनयुद्ध' भन्ने।



पेरुकाे माओवादी पार्टी 'साइनिङ पाथ' का नेता गोञ्जालो मृत्यु, जसले २९ वर्ष जेलमा बिताए

प्रकाशित मिति: : 2021-09-12 16:02:00

प्रतिकृया दिनुहोस्