एकीकृत समाजवादी पार्टी एमालेकाे खरानीबाट जन्मेको फिनिक्स चराजस्तै हाे– प्रकाश ज्वाला

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आफ्नाे पार्टी एमाले खरानी भएपछि त्यसबाट जन्मिएको फिनिक्स चराजस्तै भएकाे बताएका छन्। उनले बेलीकाे वर्तमान एमालेका अध्यक्ष ओलीलाई लक्षित गर्दै, भस्मासुर, रावर, शकुनी प्रवृत्तिकाे समग्र रुप नै ओली भएकाे बताए।

'एमाले पार्टी समग्र रुपमा नष्ट भइसकेको छ,' उनले भने, 'ओलीकाे बा प्रवृत्तिविरुद्ध कम्युनिस्ट चरित्र देखाउन कर्णालीबाट सुरु गरेकाे विद्रोहले एकीकृत समाजवादी पार्टी निर्माणकाे ढाेका खुलेकाे हाे।'

उनले व्यक्तिवाद, अंहकार तथा विधि पद्दति विपरित काम गर्ने विरुद्द डटेर सामाना गर्न नेपाली राजनीतिमा विद्रोहका रुपमा स्थापित भएको समाजवादी पार्टी देशकै एक नम्बरको पार्टी हुने सिलसिला जुम्लाबाटै सुरु भएको बताए। 'जुम्लामा नेकपा एमाले सकिएको भन्ने पृष्टि आजकाे शक्ति प्रदर्शनले गरेकाे छ,' उनले भने, 'हिजाेकाे एमाले ओरिजिनल एमाले हाेइन। याे ओलीले जनताको बहुदलीय जनवाद, सिद्धान्त र विचारलाई कुल्चेकाे एउटा सानाे झुण्ड मात्रै हाे।'

उनले जनवादको कार्यभार पूरा भइसकेकोले देशमा समाजवादी क्रान्तिका लागि एकीकृत समाजवादी पार्टीको जन्म भएको बताए। 'नक्कली एमालेमा रहेकाहरुले जनतालाई चुनाव चिन्हकाे भ्रम छरिरहेका छन्,' उनले भने, 'जनताले चाहेकाे व्यवस्था ल्याउने कार्यभार सम्हालेकाे पार्टीले जुनसुकै चुनाव चिन्हमा पनि जितेर देखाउने छन्।'

शनिबार एकीकृत समाजवादीले गरेकाे बृहत्त शक्ति प्रर्दशनका क्रममा जुम्ला पुगेका ज्वाले कार्यकर्तालाई सम्बाेधन गर्दै कम्युनिस्टले अन्याय नसहने बताएका हुन। 

नेकपा एमालेबाट विभाजित पछि निर्माण भएको एकीकृत समाजवादीले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रर्दशन गरेको हो। जुम्लामा नेकपा एमाले भन्दा एकीकृत समाजवादी बलियो भएको प्रमाण देखाउन पनि बृहत्त शक्ति प्रर्दशन गरेको बुझिएको छ।

जिल्ला भेलामा जुम्लाका आठै स्थानीयतहका करिब ५ हजार कार्यकर्तालाई सदरमुकाम झारिएको स्थानीय नेता आदिप्रसाद न्याैपानेले बताए। भेलालाई सम्बाेधन गर्न नेता प्रकाश ज्वाला, कर्णालीका कृषि मन्त्री कुर्मराज शाही, प्रदेश सभा सदस्य पदम रोकाया लगायत राष्ट्रिय स्तरका पेशागत संगठनका प्रमुखहरु जुम्ला पुगेका छन्।

एकिकृत समाजवादी पार्टी जुम्लाका अध्यक्ष तिर्थ बुढाले एउटै घरभित्र पनि सधै किचलो, सधै अन्याय र अत्याचार सहेर बस्न नसकेपछि नयाँ पार्टीको जन्म भएकाे बताए। 'एमाले भित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको हाे,' उनले भने।

जुम्लामा एमालेबाट निर्वाचित ९० जना जनप्रतिनिधि मध्ये ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् भने ६१ जनाको जिल्ला कमिटि मध्य ५८ जनाले समाजवादी रोजेका छन्।

प्रकाशित मिति: : 2021-09-12 09:26:00

प्रतिकृया दिनुहोस्