जंगलको बाटो। कहिले तमोर नदीको किनार त कहिले लेलेपको डाँडा। चराचुरुंगीको चिरबिर आवाज र नदीको सुसाहटले मन फुरुंग हुन्छ। अझै सुन्दर ओलाङचुङगोला बस्ती पुगेर हातले बुनेको गलैंचामा बसेर तातो चिया सुरुप्प पिउन पाउने आशाले गलेका खुट्टालाई पाइला अघि बढाउने साहस थप्छ। ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट तीन दिनको पैदल यात्रामा पुगिने पर्यटकीय क्षेत्र हो।
यातायातका साधनमा गुड्ने बानी परेकालाई त तीन दिनको पैदल यात्रा भन्नासाथ हातखुट्टा गल्छन्। तर सोच्दा जति गाह्रो हुन्छ यात्रा सुरुआत गर्दा हिमाली मनमोहक दृश्यले यात्रालाई सहज बनाउँछ। पुग्नुपर्ने गन्तव्यलाई सम्झँदा मात्रै पनि थकान हट्छ। राज्यको पुनर्संरचनासँगै ओलाङचुङगोलालाई फक्ताङलुङ गाउँपालिका—७ मा खुम्च्याए पनि यसको छुट्टै सान छ। इतिहास छ।
४ सय ६३ वर्ष पुरानो मानिएको ढिकी छोलिङ गुम्बालाई यस स्थानका बासिन्दाले आफ्नो धार्मिक आस्थाको केन्द्र मान्छन्।
कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाको अन्तिम दुई अक्षर गोला भने मात्रै पनि धेरैले बुझ्छन्। नेपाल र चीन जोड्ने नाकामध्ये एक भएकाले पनि सरकारको ढड्डामा ओलाङचुङगोला छुटेको छैन। तिप्ताला भञ्ज्याङ हुँदै तिब्बत जाने मुख्य द्वारका रूपमा रहेको गोलाका बासिन्दा अनवरत पर्यटककै पर्खाइमा हुन्छन्। उनीहरूका लागि पर्यटक पुग्दा र उनीहरूलाई स्वागत गर्न पाउँदा जतिको खुसी अरू समयमा हुन्न कि क्या हो जस्तो भान हुन्छ उनीहरूको मुहारमा झल्किएको खुसी र गद्गद्लाई देख्दा। पर्यटकको स्वागत गर्ने र बिदा भएसम्म खुसी राख्न कुनै कञ्जुस्याइँ हुँदैन यहाँ।