हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति तथा समुदायका दिदीबहिनीले महत्व दिँदै आएका छन्। भोजपुर तिवारी भञ्ज्याङकी ८० वर्षीया कृष्णमाया घले चाडपर्व सबैको साझा भएको बताउँछिन्। भन्छिन्, ‘तेरोमेरो होइन, चाड सबैको साझा हो।’
उनका अनुसार बर्खा (असार–साउन)मा कामले लखतरान बनाउँथ्यो। भदौमा भने अलिक फुर्सद मिल्थ्यो। मनमा एक खालको उमंग छाउँथ्यो। धानका गाभा हरियो बन्दै जान्थे। खोलानाला उर्लिरहेकै हुन्थे। त्यो बेला बहिनीलाई दर ख्वाउने निम्तो लिएर माइतबाट दाइ टुप्लुक्क आइपुग्थे।
तब कोसेलीपात बोकेर उनी माइत जान्थिन्। माइतीमा दर खाँदै छमछमी नाचेको सम्झना उनी गर्छिन्। घिउमा बेसारसहित चामल राखेर पकाएको चाम्रे, तिलको छोप राखेको अचार, मासुका परिकार उनको सम्झनामा छ।