अर्थमन्त्रीले माग सम्बोधन गर्ने आश्वासन दिएसँगै सेयर बजारमा उछाल

File photo
File photo

आज (सोमबार) सेयर बजारमा हरियाली छाएको छ। आइतबार मात्रै १०८.२६ अंकले घटेर २८१८.७२ पुगेको बजारमा सोमबार उत्साह छाएको छ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमा पुगेको छ आज नेप्से ५.७४ प्रतिशतले बढेको हो।

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेको थियो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए। योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको थियो।

अर्थमन्त्रीले जनार्दन शर्माले लगानीकर्ताहरुको समस्याहरु समाधान गर्ने बताएका थिए। सो पश्चात बजारमा पुन:उत्साह फर्किएको हो।

बजारमा भारी गिरावट आएपछि लगानीकर्ताहरु सेयर धितो कर्जाको सीमालाई तत्काल खारेज गर्न माग गर्दै गभर्नरको राजिनामासहित राष्ट्र बैंक समेत घेराउ गरेका थिए। पुँजी बजार सुधार संघर्ष समितिका संयोजक ढकालले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमा केहि परिमार्जन गरिने बताएका छन्।
 

प्रकाशित मिति: : 2021-09-06 16:02:00

प्रतिकृया दिनुहोस्