उपकुलपति ज्यू, अभिवादन!
म देशले नै दुर्गम देखेको कर्णाली परबाट हजुरलाई यो चिट्ठी लेख्दैछु। आशा छ हजुरले यसलाई हेर्दै नहेरी डस्विनको पाहुना बनाउनु हुने छैन।
उपकुलपति ज्यू !
म कर्णाली नदी पारीबाट हजुरलाई यो चिठी लेखिरहेछु, जहाँ मैले देख्ने सपनाहरूले पनि तुइन चढेर आउनु पर्छ।
परार साल मेरी आमा त्यही तुइनको बाटो हुँदै गएकी हुन् भगवानको घर। अहिलेसम्म फर्किएकी छैनन्।
अघिल्लो साल मेरा ठुल्दाई एक बोरा उत्सव बोकेर दशैं मनाउन घर फर्किएका थिए, बम्बैबाट। उनलाई पनि तै कर्णाली राजमार्गले खायो।
मेरा बा त्यही तुइनको बाटो हुँदै कालापाहाड भासिएका थिए, छोरालाई इन्जिनियर बनाउने सपना बोकेर। र म पनि इन्जिनियर बन्ने सपना बोकेर मध्यपश्चिम विश्वविद्यालयमा भासिएको छु।
बा उता भासिए, म यता भासिएँ। तर, हाम्रो नियतिले हामीलाई बराबर दरले उपहार दिइरह्यो।
छोरालाई इन्जिनियर बनाउने सपना बोकेर कालापाहाड भासिएका बा हरेक दिन गन्छन् र मलाई सोध्छन्, 'छोरा अब तँ कहिले उर्तिन्या होई।' चार वर्ष हो बुवा भन्न लगेको पनि छ वर्ष हुन लाग्यो। अझै उर्तिने छाँटकाँट म देख्दिनँ।'
अहिले त बाले सोध्न पनि छोडे, मैले भन्न पनि। साँच्चै, बहुत श्रापिरहेछन् मेरा बाले हजुरलाई र आफ्नो नियतिलाई। फेरि अर्को साल पनि यतै भासिनु पर्ने भयो भनेर।
उपकुलपति ज्यू !
नियतिले पनि केहि नहुनेलाई मात्र पछार्दो रहेछ। मेरा माइला बाले पनि कालापाहाड पछारिएरै छोरालाई हाइड्रोपावर इन्जिनियर पढाए। पढाई सकिएको एक वर्ष पनि बित्न लाग्यो। उ पास पनि भयो। दर्ता भएन। अहिलेसम्म पनि माइला बाको कालापाहाडका बोरासँगको आत्मीयता छोड्ने र नियतिले धोका दिने छाँटकाट म देख्दिनँ।
उपकुलपति ज्यू !
हामी दुई वर्षसम्म एकै सेमेस्टर पढ्दै छौं, त्यो कुराले हजुरको मन कत्ति दुख्दैन? परीक्षा दिन पाएका छैनौं, यो कुराले तपाईंको मन खान्न? क्याम्पसमा राम्रो ल्याब छैन। हामीले राम्रोसँग ल्याब गर्न पाएका छैनौं, यो कुरामा तपाईंको ध्यान किन गएन? कसरी दुख्थो, हजुर त जुममार्फत ल्याब छैन भनेर क्याम्पका सरहरुलाई गाली गर्नुहुन्छ। त्यो उत्तरदायित्व हजुरको पनि होइन र?
कलेजको फि तिर्न नसकेर विद्यार्थी झुन्डिएर मर्न पनि बाध्य छन्, कर्णालीका विद्यार्थी। उनीहरुलाई उपयुक्त तरिकाले छात्रवृत्तिको व्यवस्थापन गर्ने कर्तव्य हजुरको पनि होइन र?
उपकुलपति ज्यू !
म एउटा कुरा, अर्को कुरा पनि निर्धक्क भन्छु। कुनै एक समय थियो, विश्वविद्यालय चाइयो, त्यो पनि सुर्खेतमै चाइयो भनेर मशाल बोक्ने फुच्चे केटो म पनि थिएँ। त्यतिबेला हजुर खै कुन संसारमा हुनुहुन्थ्यो, त्यो हजुर आफैं थाहा पाउनुहोस्। विश्वविद्यालयलाई हरेक तरिकाले सहयोग गर्ने, चन्दा दिने दान दिने थुप्रै आदरणीयहरु हुनुहुन्थ्यो। हुनुहुन्छ। त्यतिबेला हजुर कुन दुलोभित्र हुनुहुन्थ्यो, त्यो तपाईं आफैं मुल्यांकन गर्नुहोला।
यो सानो फुच्चेले यति ठुलो कुरा गर्याे नभन्नु होला। उपकुलपति ज्यू ! देखेको कुरा लेखेको मात्र हुँ। रिसानी माफ होस्। यत्ति किन भनेको हुँ भने नि, हजुरले पनि त भन्नुहुन्छ म कर्णालीले जन्माएको छोरो हुँ भनेर। भन्न हजुरलाई त पर्याे।
अन्त्यमा ,
साँच्चै भनेको उपकुलपति ज्यू ! म एक गरिब मजदुरको छोराले नै बनाउनु छ पहराको साँघुरो बाटोमा विशाल संरचना। एक्लैले भएपनि फोड्नु छ दशरथ माँझिलेझं भिमकाय पहाड। जहाँबाट आवतजावत गर्नेछन्, मेरी आमाका अमुर्त सपनाहरुका रेलगाडी।
...र, बन्नुछ एक ईन्जिनियर।
उहि तपाईंको आज्ञाकारी विद्यार्थी, भरत