म्यान्मारमा सेनाको आतंक: अन्धाधुन्ध गाेली चलाउँदा गर्भवती महिलाको मृत्यु

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo : RFA
Photo : RFA

म्यान्मारकाे सैनिक शासनले एक गर्भवती महिलाको हत्या गरेको छ।

सेनाका जवानहरूले अन्धाधुन्ध गाेली चलाउँदा २७ वर्षीया मा ई थ्वे-मोकाे घटनास्थलमै मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन्।

बुधबार राति हत्या गरिएकी थ्वे मो पाँच महिने गर्भवती थिइन्। माछा मार्न गएका श्रीमानसँग घर फर्किदै गर्दा बाटोमै उनकाे हत्या गरिएको आफन्तले बताएका छन्।

गस्ति गरिरहेका सैनिक सरकारका प्रतिनिधिले दम्पत्तिले उज्यालोका लागि बत्ती बालेकाे देखेपछि अन्धाधुन्ध गोली चलाएकाे बताइएको छ। मृतक महिलाका श्रीमान मीन ने ल्विन गोली लागेर घाइते भएका छन्। उनकाे एक अस्पातालमा उपचार भइरहेको छ।

मृतक मो गत वर्षसम्म शिक्षिकाको रूपमा काम गर्थिन्। उनकी एक चार वर्षीया छोरीसमेत छिन्। उनको गर्भमा रहेको सन्तान पनि छोरी नै भएको अस्पताल रिपोर्टले जनाएको थियाे।

सैनिक सरकारले पछिल्लो समय छायाँ सरकारका रुपमा स्थापना गरिएको राष्ट्रिय एकता सरकारविरुद्ध जोडतोडले हिंसा बढाएको छ। दिनहुँजस्तो देशव्यापी नयाँ हत्याका घटनाहरू घट्दै आएका छन्।

फेब्रुअरी १ मा गरेको ‘कू’ पश्चात अहिलेसम्म कम्तीमा पनि १,४०३ जनाको हत्या भएको छ भने ७,७०० भन्दा बढीलाई गिरफ्तार गरिएको छ।

मारिनेमा बालबालिका, किशोर-किशोरी, आम सर्वसाधारण, राजनीतिज्ञ, सामाजिक अभियन्ता, प्रदर्शनकारीहरू छन्।

प्रकाशित मिति: : 2021-09-04 17:03:00

प्रतिकृया दिनुहोस्