कहाँ–कहाँ छ चीनसँग सीमा विवाद, किन बनायो सरकारले छानबिन गर्न टोली ?

पर्दाफास

काठमाडौं

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले नाम्खामा चीनबाट नेपाली भूभाग अतिक्रमण भएको र त्यसको अध्ययन हुनुपर्ने बताउँदै आएका थिए । सरकारले उनीहरुको माग सम्बोधन गर्दै अध्ययन टोली बनाएको हो । 

यस विषयमा सरकारी तहबाटै छानबिन गर्न दुवै नेताले माग गरेका थिए । त्यही दबाबमा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् बैठकबाटै यसबारे अध्ययन कार्यदल गठनको निर्णय लिएका हुन्  ।
नेपाल र चीनबीच बेलाबेलामा सीमा विवाद चर्चामा आउने गरेको छ । तर, साँच्चै नै चीनले नेपालको भूभाग अतिक्रमण गरेको हो होइन ? अतिक्रमण गरेको भए कति भूभाग कब्जा गरेको हो ? भन्ने विवरण सरकारले पुष्टि गरेको छैन । 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पनि चीनले नेपालको हुम्मालगायत जिल्लामा वर्षौंदेखि नेपाली भूभाग अतिक्रमण गरेको भन्दै समाचार प्रकाशित भएको थियो । तर, उक्त समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको थियो । 

 

प्रकाशित मिति: : 2021-09-02 20:34:00

प्रतिकृया दिनुहोस्