हुथी विद्रोहीद्वारा यमनको मारिब कब्जा

Photo : Reuters
Photo : Reuters

यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई कब्जामा लिएको दाबी गरिएको छ।

सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरलाई हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको बुधबार जानकारी दिएका हुन्।

विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए भने यसलाई रणनीतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ।

“विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्,” एक सैन्य अधिकारीले भने।

इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएको थियो। हुथी विद्रोही समूहले यसअघि सरकारी नियन्त्रणमा रहेको मारिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ।

मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस रहेका छन्। यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्यत्र पलायन भएका छन्।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याई युद्धविराम गराउने प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन। यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ। 

प्रकाशित मिति: : 2021-09-01 21:44:00

प्रतिकृया दिनुहोस्