चाडपर्व नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न सुरु गरेको छ। राष्ट्र बैंकले भदौ १५ गतेबाट बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्न सुरु गरेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए।
अहिलेसम्म ९ ओटा बैंक तथा वित्तीय संस्थाले नयाँ नोटहरु साटेर लगिसकेका छन्। दुई दिनमै एक अर्ब रुपैयाँ बराबरको नयाँ नोटहरु बैंक तथा वित्तीय संस्थाले लगेको विभागका कार्यकारी निर्देशक नेपालले जानकारी दिए।
दशैँको बेलामा नयाँ नोटको समस्या हुने गरेकोमा यो वर्ष त्यस्तो समस्या नहुने उनको भनाई छ। उनले राष्ट्र बैंकसँग पर्याप्त मात्रामा नयाँ नोटहरु रहेकोले समस्या नहुने बताए।
बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु भएपनि सर्वसाधरणका लागि तत्काल साट्ने व्यवस्था नहुने भएको छ। कोरोना महामारीको कारण सर्वसाधरणलाई कसरी नयाँ नोट वितरण गर्ने भन्ने कुरा छलफल भएको छैन। त्यसैले तत्काल सर्वसाधरणले नयाँ नोट साट्न पाउने छैनन्।
तर, राष्ट्र बैंकले स्वास्थ्य मापदण्ड अपनाएर सर्वसाधरणलाई नयाँ नोट बाँड्ने विषयमा छलफल गरिरहेको छ। सम्भवत असोजको सुरुबाट सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने तयारी भइरहेको नेपालले बताए।