चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।

समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ।

यसका अतिरिक्त उनीहरु बीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ। त्यसक्रममा उनीहरु बीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो।

अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए। साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए।

यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्तराज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए। हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ।

आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरुको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविष्य निर्धारण हुने पनि उनीहरुबीच कुराकानी भएको सो समाचार समितिले जनाएको छ।

अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरु आफ्नो देश फर्किनका लागि बसेका छन्। उनीहरुलाई सुरक्षितरुपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्वसमुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए।


 

प्रकाशित मिति: : 2021-08-30 13:42:00

प्रतिकृया दिनुहोस्