इजाजत बिना एसिड व्यापारः पोखरामा तीन जना पक्राउ

 अनुमति बिना एसिडको व्यापार गर्ने ३ जना पोखरामा पक्राउ परेका छन्।

एसिड ओसार–पसार तथा बेचबिखन भइरहेको भन्ने सूचना अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

पोखरा ४ गैह्रापाटन स्थित ग ३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र पोखरा २ मौरियाटोल स्थितमा रहेको अभिषेक औजार पसलबाट बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३५० केजी एसिड प्रहरीले बरामद गरेको छ।

यसमा संलग्न तीन जना व्यक्तिलाई पक्राउ गरी तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए। 

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ घर भई हाल चितवन भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने मिन बहादुर भारती रहेको प्रहरीले बताएको छ।

ग ३ प ११४३ नम्बरको जिप चालक १९ वर्षीय भारती सहित अर्का मोरङ बिराटनगर महानगरपालिका–२ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका–२ बस्ने सोही सवारीमा सवार २९ वर्षीय केशब सिंह साथै बागङ नगरपालिका–७ ढिकीचौर स्थायी घर भई हाल जिल्ला  पोखरा–२ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलको संचालक ६३ वर्षीय बल बहादुर बिक रहेको डीएपसी हमालले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-29 21:26:00

प्रतिकृया दिनुहोस्