कर्णालीका जलस्रोत मन्त्री, सचिव र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ र मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ। शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता भएको हो।

मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन सम्झौता भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले जनाएको छ।

'मन्त्रालयले लिएको लक्ष्य र योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि सचिव र १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरिएको हो,' मन्त्री श्रेष्ठले भने, 'सम्झौता अनुसार काम सम्पन्न गर्ने कार्यालयलाई पुरस्कार र नगर्नेलाई सजायको व्यवस्था गरिएको छ।'

कार्यक्रममा मन्त्री श्रेष्ठले सम्झौताले जिम्मेवारी बोध गराउनुका साथै पुरस्कार र सजायको व्यवस्था हुने बताए। 'सम्झौताको कार्यान्वयन गर्नु मन्त्री, सचिव, महाशाखा प्रमुख, कार्यालय प्रमुख सबैको जिम्मेवारी र दायित्व हो,' उनले भने, 'कर्णालीकै उत्कृष्ट मन्त्रालय बनाउका लागि तपाईंहरु सबैको भूमिका महत्वपूर्ण रहन्छ। मलाई साथ दिनुस्। सेवामा गुणस्तरता र काममा प्रभावकारीता देखाउनुहोस्।'

उनले दीर्घकालिन महत्वका योजनाहरुलाई सम्झौता अनुसार तोकिएकै समयमा मितव्ययिता, परदर्शिता, प्रभावकारी ढंगले पूरा गर्न पनि निर्देशन दिए। 'यो सम्झौतालाई प्रक्रियागत ढंगले नबुझ्नुहोला। कसरी परिणाममुखि बनाउन सकिन्छ, त्यसतर्फ केन्द्रीत हुनुहोला,' उनले भने।

मन्त्री श्रेष्ठले मन्त्रालयका कार्यक्रमहरु कार्यान्वयन गर्दा आइपर्ने समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए। उनले भने, 'सम्झौतामा पुरस्कृत र कारवाही दुबैको व्यवस्था गरिएको छ।'

उनले जलविद्युतका कार्यक्रमहरुलाई अघि बढाउन र जनतालाई उज्यालो प्रदान गर्नेतर्फ ध्यान दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्। 'कर्णाली जलस्रोतको धनी छ। तर यहाँका नागरिकहरु अझै अध्याँरोमै छन्,' उनले भने, 'साना तथा लघु जलविद्युतको सम्भाव्यता अध्ययन गरेर जनतालाई अध्याँरोबाट मुक्ति दिनका लागि तपाईंहरु अघि बढ्नुहोस्।'

मन्त्रालयका सचिव झाले कार्य सम्पादन करार सम्झौता अनुसार आफू र मातहतका कार्यालय प्रमुखहरुले काम गर्ने प्रतिवद्धता जनाए। 'नयाँ मन्त्रालय भएकाले शून्यबाट काम गर्नुपर्ने बाध्यता छ,' उनले भने, 'उत्कृष्ट र उदाहरणीय मन्त्रालय बनाउनका लागि क्षमता, विवेक र कर्णालीको आवश्यकता अनुसार काम गर्छौं।'

सिनियर डिभिजनल इन्जिनियर (डिसिई) गोपाल शर्माले टार सिंचाई आयोजना, बस्ती उज्यालो कार्यक्रम, जलविद्युत आयोजना, सिंचाई, खानेपानी लगायतका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुलाई समयमै र प्रभावकारी ढंगले काम गर्न आफूहरु लागिरहेको बताए।

उनले कामलाई सहज बनाउने, काम गरिसकेपछि मूल्याङ्कन गर्न सकिने सूचक र मानकहरु राखेर कार्य सम्पादन करार सम्झौता गरिएको उनले थपे। 'सम्झौतामा चालू आर्थिक वर्षभरी गरिने कामहरुको लिष्टिङ गरेका छौं,' उनले भने, 'तोकिएको समय र सीमाभित्र रहेर संझौता अनुसार कामहरु गर्नेछौं।'

प्रकाशित मिति: : 2021-08-27 17:38:00

प्रतिकृया दिनुहोस्