समय : मंगलबार बिहानको ३:५५ बजे।
स्थान : वीर अस्पताल, काठमाडौं।
देशकै जेठो अस्पताल। सरकारको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुन्छ। समस्या के होला र ? त्यहाँ नपुग्नेलाई यस्तै लाग्छ। तर, बिरामी लिएर/भएर वीर अस्पताल पुग्दाका पीडा र व्यथाका कथा छुट्टै रहेछन्। अन्नपूर्णको टिम मंगलबार बिहान पुग्दा यस्तै दृश्य देखिए/भेटिए।
मंगलबार बिहान ३ बजेर ५५ मिनेटमा अस्पताल पुग्दा बाहिर बिरामीका कुरुवा यताउता गर्दै थिए। भित्र प्यासेज र बिरामी राख्न प्रयोग गरिने जगेडाको बेडमा दुई युवा रात काट्ने प्रयास गर्दै थिए। बेला–बेला कोल्टे पर्थे। मज्जाले निन्द्रा लाग्ने कुरै भएन। भुइँमा एकातर्फ दुई जना कम्मल ओडेर निदाएका थिए। अर्कोतर्फ ३ युवा सुतेका थिए एक पुरुष बसेर बिहानको प्रतीक्षामा थिए। केही पर एक युवती सुतेकी थिइन्। यी सबै विरामीका कुरुवा थिए। जो चिसो भुइँमा रात काट्ने प्रयासमा थिए।
बिहानको ४ बज्यो। उपचारका लागि अस्पताल पुग्नेको चहल पहल सुरु भयो। टिकट काट्ने ठाउँमा लाइन सुरु भयो। थर्मस बोकेर चिया बेच्न ग्राहक पर्खनेहरू चलमलाउन थाले। अस्पताल परिसरकै मन्दिरमा पूजा सामग्री बोकेर पसेका पुजारीलाई टीका लगाइदिने मान्छेको कमी थिएन। गम्भीर अवस्थाका बिरामीका आफन्त मन्दिर पुगेर बिरामीको सुस्वास्थ्यको कामना गर्दा रहेछन्। सायद १९४७ सालमा अस्पताल बनाउँदा वीर शमशेरले यो बुझेर नै अस्पताल परिसरमा मन्दिर पनि बनाएका थिए।
बिहान ४ बजे नै टिकट काउण्टर अघि लाइन बनिसकेको थियो। लाइनमा बस्दा–बस्दै गलेकाहरू बेञ्चमा सुस्ताउँथे। झकाउँथे। झस्किएर पुन: घडी हेर्दै ओपीडी टिकट काट्ने काउन्टरको झ्यालमा हेर्थे। उनीहरूको प्रतीक्षा बिहानको साढे ८ बजेको थियो। ८:३० देखि दिउँसो ३ बजेसम्म ओपीडीका लागि टिकट काटिन्छ।