नेपाल धितोपत्र बोर्डबाट चन्द्र ढकालले पनि दिए राजीनामा, अध्यक्ष ढुङ्गानामाथि नैतिक सङ्कट

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र ढकालले पदबाट राजिनामा दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतमा बोर्डको सञ्चालक भएका ढकालले सेबोन सञ्चालक समिति सदस्यमा नबस्ने व्यहोरा उद्योग वाणिज्य महासंघ नेतृत्वलाई अवगत गराएका हुन्।

ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन्।

ढकालले आज २०७८ भदौ ८ गतेका दिनदेखि नै लागू हुने गरी सेबोन सञ्चालकबाट राजिनामा दिएको उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार ढकालले दिएको राजिनामा स्वीकृत भईसकेको छ भने रिक्त पदपुर्ति गर्ने सम्बन्धमा कुनै निर्णय भएको छैन। महासंघले धितोपत्र बोर्डलाई ढकाल सञ्चालक पदमा नरहने व्यहोरा जानकारी गराउँदै नयाँ प्रतिनिधि नियुक्त भएपछि जानकारी गराउने व्यहोराको पत्र पठाउने निर्णय पनि गरेको छ।

धितोपत्र बोर्डको सञ्चालकको पदमा रहेर ढकालले सर्वोत्तम सिमेन्टको शेयरमा लगानी गरेपछि विवादित बनेका थिए। यस सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन सुरु गरे पछि ढकालले सेबोन सञ्चालक समितिबाट राजिनामा दिएका हुन्।

मंगलबार मात्र नेप्सेका प्रमुख कार्यकारी अधिकृतले आफ्नो पदबाट राजिनामा दिएका थिए। बुधबार ढकालले पनि राजिनामा दिए पछि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना नैतिक दवाबमा परेका छन्।

प्रकाशित मिति: : 2021-08-25 16:37:00

प्रतिकृया दिनुहोस्