स्वनामधन्य गुरुको प्रवचन सुन्न सयौं विद्वान्, व्यापारी, राजनीतिक नेता र भारी तत्वद्रष्टा दार्शनिक सबै उपस्थित थिए।
गुरुले दुई घण्टासम्म धर्म, सत्य, सदाचार, जीवनको लक्ष्य र दुःखी मानवको कल्याणबारे धाराप्रवाह भाषण गरे। उनको भाषण सुनेर उपस्थित सबै धन्य भएर फर्के।
राति अबेर गुरुलाई सम्बोधन गर्दै उनका मित्रले भने, ‘आज तिमीले सबैको मन जित्यौ तर के तिमीले जे बोल्यौ त्यो सत्य थियो ?’ केही समय शान्त भएर गहन सोचमा डुबेपछि गुरुले भने, ‘वास्तवमा मेरो भाषण एक प्रवञ्चना मात्र हो।’
सत्य के हो ? सायद आजसम्म सोधिएका लाखौं करोडौं प्रश्नमध्ये सबैभन्दा ज्यादा बनावटी र आडम्बरी उत्तर यही प्रश्नमा दिइएको छ। सबैले आआफ्नो संस्कृति, समाज, धर्म र सदाचारले जे सिकाएको हुन्छ, त्यही उत्तर दिने हो। वाक्चातुर्यमा पारंगत व्यक्ति आफ्नो वाक्छल, मिष्टवचन र स्वादिष्ट भावव्यञ्जनाको माध्यमबाट मानिसको मनलाई छल्न र झुक्याउन सफल हुन्छ।
चुरो कुरा यत्ति मात्र हो। मनुष्यले आफ्नो हृदयले ठान्ने र सभ्यताले जान्न सिकाएको सत्यमा फरक छ। आत्मकथा लेखेर ख्याति कमाएका महाशयलाई पत्रकारले सोधे, ‘के तपाईंले तपाईंकै बारेमा लेखेका कुरा सत्य हुन् ?’ लेखक असामञ्जसमा परे। उनले चलाखीपूर्ण र रकमी प्रतिप्रश्न गरे, ‘तपाईंलाई कस्तो लाग्छ ?’ वास्तवमा आफ्नो जीवनका घटना, चाहना, वासना र कर्मबारे सर्वांग सत्य बोल्न र लेख्न गाह्रो छ।