गोरखा ताक्लुङका रूपबहादुर परियार लुगा सिलाउँदै घर–घर डुल्थे। ‘विष्ट’ (त्यतिबेलाका कथित उपल्लो जातिलाई व्यक्त गरिने शब्द) कहाँ विभिन्न रंगका पोसाक बनाउँदा निस्किएका टुक्रा बटुल्थे। तिनै धरा जोडेर छोरीहरूका लागि फ्रक बनाइदिन्थे।
रूपबहादुरका ११ सन्तान (१० छोरी, १ छोरा) मध्ये पाँचौं अर्थात् ठाइँली विष्णुमाया कक्षा ५ मा पढ्दा स्कुलले डे«स तोक्यो। छात्रले आकाशे नीलो सर्ट र छात्राले गाढा नीलो फ्रक लगाउनै पर्ने। रूपबहादुरको व्यस्तता बढ्यो। धेरै लुगा धपेडीमा सिलाउनुपर्यो।
कसैका नेपाली, कसैका चाइनिज, कसैका इन्डियन कपडा थिए। सबैका टुक्रा जोडेर विष्णुमायाको फ्रक बनेको थियो। एक सातासम्म त न सिउनी देखियो, न त फरक रंग नै। तर, जब शनिबार आमाले धोइदिइन्, रंग गएर भिन्दाभिन्दै कपडा छुट्टियो। टाटेपांग्रे बन्यो उनको फ्रक। स्कुलमा सबैले त्यसको नामै राखिदिए, ‘नौरंगी फ्रक।’ उनी त्यही ‘नौरंगी’ फ्रकमा फुरुक्क हुँदै स्कुल पुग्थिन्। त्यसलाई औंल्याउँदै साथीसंगीले ‘नौरंगे’ भन्थे। खिसी ट्युरी र घोचपेच गर्थे।