संविधानमा आफ्ना मुद्दा समेट्न माग गर्दै थारू समुदायले गरेको आन्दोलन हिंसात्मक बन्दा टीकापुरमा एक नाबालक र आठ सुरक्षाकर्मीको ज्यान गयो।
जे नहुनुपर्थ्यो भयो, तर त्यसपछि टीकापुरमा रैथाने थारूले राज्य संयन्त्रबाट भोगेको ज्यादती र पाएको दुःख पनि कम कहालीलाग्दो छैन।
कैलालीको जोशीपुर गाउँपालिका-४ छपहीका रामप्रसाद चौधरी टीकापुर घटनाको अर्को दिन अर्थात् ८ भदौ २०७२ मा घर नजिकैको विद्यालयबाट पक्राउ परे।
पछिल्लो ९ वर्षदेखि अध्यक्ष रहेको राष्ट्रिय मावि दहरबेरियाका प्रधानाध्यापकसँग छलफल गरिरहेका वेला उनलाई सादा पोशाकका प्रहरीले शुरूमा केही समयका लागि इलाका प्रहरी कार्यालय, जोशीपुर गइदिन अनुरोध गरे।
तर, जसै थप प्रहरी बल आइपुग्यो, उनका दुवै हात पछाडि पारेर हत्कडी लगाइयो। आँखामा कालो पट्टी बाँधियो र गाडीमा राखेर लगियो। उनलाई कुन आरोपमा पक्राउ गरिएको हो, के विषयमा अनुसन्धान गरिने हो, कहाँ लगिंदै छ जस्ता जानकारी पनि दिइएन। नागरिकलाई पक्राउ गर्दा अपनाउनुपर्ने न्यूनतम कार्यविधि पूरा गरिएन।
चौधरीका अनुसार, गाडीमा राख्ने बित्तिकै उनीमाथि कुटपिट शुरू भयो। “टीकापुरबाट धनगढी पुर्याउँदासम्म बीचमा पर्ने सबैजसो चौकीहरूमा रोक्दै, पिट्दै गरे। कठोर यातना पाएँ। टीकापुर घटनामा पक्राउ परेकामध्ये सबैभन्दा बढी यातना पाउने म नै हुँ। मलाई बाँच्छु भन्ने आशै थिएन,” उनी भन्छन्।