गोसाइँकुण्डका यात्रु फर्कन थाले

जनैपूर्णिमाको विशेष अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन्।गोसाइँकुण्डमा आज बिहानैदेखि भक्तजन स्नान र पूजा आराधना गरी आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका हुन्।

गोसाइँकुण्ड स्नान गरी बिहानैदेखि भक्तजन फर्कन थालिसकेका र बिहान ९ः०० बजेको समयसम्म करिब ८०० भन्दाबढी भक्तजन पूजाआजामा कुण्डमै व्यस्त रहेको सुरक्षामा खटिएका प्रहरी अधिकृतले अनुमान गरेका छन्।

जनैपूर्णिमाका उपलक्षमा करिब दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको अनुमान गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै लेक लागेका बिरामीको उद्धारका लागि नेपाली सेना तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गराउन सुरक्षा अङ्गले चेतना अभिवृद्वि गराउने कार्यलाई प्राथमिकता दिइरहेका छन् । गोसाइँकुण्ड गएका यात्रुमाझ बिरामीको समस्या नभेटिएको र सुरक्षामा खटिएका गस्ती प्रहरीले यात्रुको अवस्थाबारे अनुगमन गरिरहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-22 14:31:00

प्रतिकृया दिनुहोस्