अमेरिकी सेनालाई सहयोग गरेका अफगानी खाेज्दै तालिबान लडाकूहरू

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका
Photo - AFP
Photo - AFP

तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ।

तालिबान लडाकूले विरोधीहरूविरुद्ध कुनै बदला नलिने प्रतिवद्धता गरे पनि आन्तरिकरूपमा उनीहरूले अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगान नागरिकहरूको खोजी गरेकाे पाइएको हो।  

संयुक्त राष्ट्रसंघको आतङ्क–आँकलन सल्लाहकारहरूद्वारा प्रदान गरिएको एएफपीले भेटेको प्रतिवेदनले यस समूहले आफूले गिरफ्तार गर्न चाहेका व्यक्तिहरूको ‘प्राथमिकता सूची’ बनाई विदेशी सेनालाई सघाएका अफगान नागरिकको खोजी गरिरहेको बताइएको छ। 

उक्त पत्रअनुसार अधिकांश खतरामा अफगान सैनिक, प्रहरी र गुप्तचर एकाइहरूमा केन्द्रिय भूमिका निर्वाह गर्ने अधिकारीहरू रहेका छन् र तालिबानले आफूले पत्ता लगाउन चाहेका व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको खोजी गर्दै ‘लक्षित घर–घरको भ्रमण’ गरिरहेका छन्।

तालिवानहरूले काबुल विमानस्थलमा जाने बाटोमा व्यक्ति विशेषको पनि जाँच गरिरहेका छन् र राजधानी र जलालाबादलगायत प्रमुख शहरहरूमा जाँचबिन्दुहरू स्थापना गरेका छन्। यस बिषयमा जानकारी दिँदै ‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’द्वारा बुधबार बुझाइएको हो। यो संस्थाले संयुक्त राष्ट्र संघका निकायहरूलाई गोप्य सूचना दिनेगर्छ।

समूहका कार्यकारी निर्देशक क्रिश्चियन नेलेमनले एएफपीलाई भने, ‘उनीहरूले आफूलाई आत्मसमर्पण गर्न इन्कार गर्ने परिवारलाई निशाना बनाउँदैछन् र शरिया कानूनअनुसार ती परिवारका सदस्यहरूलाई अभियोग र सजाय दिइरहेका छन्।’

‘यसले पश्चिमी गुप्तचर सेवाहरू, उनीहरूको सञ्जाल, विधि र आगामी तालिबान, आइएसआइएस र अन्य आतंकवादी खतराहरूको प्रतिरोध गर्ने क्षमतालाई अझ खतरामा पार्नेछ,’ उनले थपे।

रिपोर्टमा तालिवानले आफ्नो प्रशासनलाई सहयोग गर्न नयाँ सूचनाकर्तालाई ‘द्रूत गतिमा भर्ना’ गरिरहेका छन् र मस्जीद र विदेशी मुद्रा साट्ने प्रतिनिधिहरूसँग सम्पर्क गरेर आफ्नो लक्ष्यको सूची विस्तार गरिरहेका छन्।

संस्थाका अनुसार तालिबानले तत्कालिन अफगान सरकारमा आतङ्कवादविरुद्ध काम गर्ने व्यक्तिलाई अगस्त १६ मा लेखेको पत्र पुनः छापिरहेको छ। 

संयुक्त राज्य अमेरिका र अन्य विदेशी सैनिक २० वर्षसम्म अफगानिस्तानमा बसी त्यहाँ तालिवान समूहविरूद्ध लडेको थियो। कतारमा अमेरिकी प्रतिनिधि र तालिवान समूहका नेताबीच भएको ‘अफगान शान्तिका लागि सम्झौता’ पछि अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुने निर्णय भएको थियो। यसै अनुरूप अफगान भूगोलबाट नेटो सैनिक बहिर्गमनको प्रक्रिया जारी छ।

विदेशी सेनाको बहिर्गमन प्रक्रियासँगै तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जा लिने क्रमको अन्त्यमा आइतबार काबुल कब्जामा लिएको थियो।  राजधानी कब्जामा लिएपछि तालिवानले जनसम्पर्क अभियानलाई तीब्र पारेको छ।

प्रकाशित मिति: : 2021-08-21 06:11:00

प्रतिकृया दिनुहोस्