तालिबानभन्दा ठूलो संख्या र राम्रा हातहतियारसहितका उपकरण थिए– अफगानी सेनासँग। तर, अमेरिकी सैन्य बलको अभावमा उनीहरूले सरकारी नियन्त्रण कायम राख्न सबल भएनन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सोधेका थिए– जुलाईभित्र अफगानिस्तानमा तालिबानको कब्जा अपरिहार्य छ? बाइडेनको जवाफ थियो, 'होइन, त्यसो हुँदैन।' अत्याधुनिक हातहतियारले तीन लाख अफगानी सुरक्षाकर्मीहरूको उपस्थिति औंल्याउँदै राष्ट्रपति बाइडेनले भनेका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दाबी गरेको भन्दा थोरैपछि अफगानिस्तानको सेना पूर्ण रूपमा ध्वस्त भयो। प्रायः लडाइँ नै नगरीकन देशको धेरैजसो भागको नियन्त्रण गुमायो। अनि तालिबानलाई कब्जा गर्न अनुमति दियो।
अफगानिस्तानको प्रान्तीय राजधानीहरू चक्रीय द्रूत गतिमा गुम्यो। अनि अगस्ट १५ मा तालिबान लडाकुहरू काबुलतर्फ अघि बढे। अफगान सेनालाई प्रशिक्षित र सु–सज्जित गर्न अमेरिकाले खर्च गरेको ८३ अर्ब अमेरिकी डलरको खर्च कसरी गलत सावित भयो? तालिबानलाई रोक्न अफगानी सेनाले किन कडा संघर्ष गर्न सकेन? अहिले आम रूपमा यो जिज्ञासा उठेको छ।
घातक हतोत्साहित
उक्त जिज्ञासाको जवाफ नेपोलियन बोनापार्टको चरित्रमा पाउन सकिन्छ, 'युद्धमा नैतिकबल, भौतिक तागतभन्दा दश गुणा शक्ति बरावर हो।' साधारणत: अफगान सेना विगत २० वर्षमा हवाई शक्ति, खुफिया, रसद, योजना र अन्य महत्वपूर्ण क्षमताहरूको लागि अमेरिकी समर्थनमा भरोसा राख्दैआएका थियो। अमेरिकी सेना फर्कने निर्णयले उनीहरूमा चरम निराशा छायो। यो उनीहरुका लागि सबैभन्दा बढी घातक सिद्ध पनि भयो।
अफगानिस्तानको विशेष सुरक्षा बलका एक अधिकारीले वासिङ्टन पोस्टलाई भनेका थिए, 'सन् २०२० मा तालिबानसँग सेना फिर्ता गर्ने डोनाल्ड ट्रम्प प्रशासनको सम्झौतालाई अधिकांश अफगानीहरूले उपयुक्त ठानेका थिए। जुन कालान्तरमा प्रमाणित भयो। अधिकांश प्रान्तको तालिबानसँगको मुठभेडमा संयुक्त राज्य अमेरिकाको सेना असफल हुँदैआएको थियो।'
अफगानिस्तानका तत्कालीन राष्ट्रपति अशरफ घानीले सोचेका थिए– उनको सरकारले राष्ट्रपति बाइडेनबाट सहायता पाइरहनेछ तर अप्रिलमा अफगानिस्तानमा बाँकी रहेका तीन हजार अमेरिकी सेना पनि बाइडेन प्रशासनले २०२१ सेप्टेम्बर ११ सम्म फिर्ता लगिसक्ने घोषणा गर्यो। ती अमेरिकी सेनाहरू मात्र बिदा भएनन्, त्यससँगै आठ हजार सहयोगी सेना, १८ हजार ठेकेदार र अफगान सेनाहरू पनि बिदा भए। आफ्नो वायु सेना सञ्चालन गर्न र रसद सहयोगको लागि पनि अफगानीहरू परनिर्भर थिए।
पछिल्ला महिनाहरूमा अफगानी सेनाले देशभरि रहेका सैनिक ब्यारेकहरूलाई खाना र गोला–बारुदजस्ता महत्वपूर्ण सामग्रीहरु आपूर्ति गर्न असमर्थ भएको थियो। केही अफगान युनिट विशेष गरी 'एलिट कमाण्डो'हरु लगभग अन्तिम दमसम्म लडे तर भित्तामा लेखिएको सन्देश देखेरै धेरैजसो सरकारी सेनाले तालिबानसँग लड्न अघि सरेनन्।
अमेरिकी सेनाको गल्ती
अफगानिस्तानको सत्तापलटले अमेरिकाले अफगानी सेनालाई तालिम दिएको २० वर्षलामो अभ्यासबारे गम्भीर प्रश्न खडा गरेको छ। अमेरिकी सशस्त्र सेनाहरूले सिकेका पाठलाई समीक्षा गर्नु आवश्यक छ। त्यहाँ आत्म-समीक्षा ठूलो खाँचो छ।
अमेरिकी प्रशिक्षणमा धेरै कमीकमजोरीहरु थिए– जस्तै: भाषा र सांस्कृतिक ज्ञानको कमी। उनीहरू सैनिक तालिममा मात्र केन्द्रित रहे, जुन–प्रहरीको प्रशिक्षणमा विशेषज्ञताको कमी रह्यो जसले स्थानीय स्तरको सुरक्षामा समेत चोट पुग्यो।
अमेरिकी सेनाले स्थल सेनामा ध्यान केन्द्रित गर्यो जबकि रसदपानी, योजना, प्रशिक्षण र सैन्यबलमा एकता कायम राख्न आवश्यक कमाण्ड र नियन्त्रणमा उच्च स्तरीय विशेषज्ञतालाई बेवास्ता गरियो।
अमेरिकी प्रशिक्षण प्रयासमा पनि उसको नियन्त्रणभन्दा बाहिरका कारकहरुले बाधा पुर्याएको थियो। संसारको सबैभन्दा गरीब र अशिक्षित देशको सैनिक सहायतामा भ्रष्टाचारको व्यापकता थियो। कान्दाहारका एक पुलिस अधिकारीले भर्खरै न्युयोर्क टाइम्सलाई भनेका थिए, 'हामी भ्रष्टाचारमा डुबिरहेका छौं।'
भ्रष्टाचार गर्ने अफगान सेनाको संख्यामा थियो। बाइडेनले उद्धृत गरेजस्तै अतिरञ्जित थियो त्यो। वासिङ्टन पोस्टको अफगानिस्तान पेपर्स प्रोजेक्टले तीन लाख ५२ हजार सैनिक र प्रहरीलाई देशको सुरक्षा बलको सदस्यको रूपमा गणना गरेको पत्ता लगायो तर अफगान सरकारले दुई लाख ५४ मात्र पुष्टि गर्न सक्यो।
कमाण्डरहरूले भत्तामा भ्रष्टाचार गर्न 'फर्जी सिपाही' पनि बनाए। त्यसबाहेक सेवा गर्ने सैनिकहरुको तलबसमेत घटाएर आफूले भ्रष्टाचार गरी खाइदिए। सैन्य किल्लासम्म आवश्यक सामग्रीहरु पुर्याउन पनि असफल भएका छन्। धेरै हदसम्म त्यो भ्रष्टाचारको रकम अमेरिकाले तालिबानविरुद्ध लड्न खर्च गर्नुपर्ने बजेटबाट दुरुपयोग भएको थियो। भ्रष्टाचारविरुद्ध लड्ने अमेरिकाको प्रयासविपरीत कर्म गरियो। अफगानिस्तानमा अमेरिकाको उपस्थिति उत्साहहीन र निष्प्रभावी भयो।
दोषी को ?
अमेरिकी सेनाले आफ्नै स्तरको अफगानी सेना बनाउन लागेकोमा आलोचना गरेका छन्। अफगानी सेनालाई धेरैजसो एयरपावर र टेक्नोलोजीमा निर्भर बनाउन खोजियो तर अफगानीहरुले आफैँ सञ्चालन गर्नसमेत सकेनन्।
आलोचनामा केही सत्यता त छ। तर अमेरिकी दृष्टिकोणबाट हेर्दा पनि आफ्नै तर्क गर्ने ठाउँ छ। अफगानिस्तानको ३ करोड ३८ लाख जनसंख्याको रक्षा गर्नलाई सेनाको संख्या धेरै सानो थियो। अमेरिकी प्रशासनले त्योभन्दा ठूलो संख्यामा सेना बनाउनको लागि खर्च गर्न चाहेनन्।
हवाई मार्गबाट चौकी आपूर्ति नगरी यति विशाल देशमा सुरक्षा बलको उपस्थिति कायम राख्ने कुनै उपाय थिएन। एकपटक अमेरिकी सेना र ठेकेदारहरू अचानक बाहिर निकालेपछि अफगानमा सजिलैसँग आफ्नो सैन्य संयन्त्रले काम गर्ने क्षमता हरायो। र, सेना विघटित भयो।
जे होस् यो कठिन लडाइँको लागि अफगान सेनालाई दोष दिन सजिलो छ। तर यो याद राख्नु महत्वपूर्ण छ– ६० हजारभन्दा बढी अफगान सुरक्षा बलका सदस्यहरू २० वर्षमा मारिए। यो अमेरिकी सैनिक हताहतीभन्दा २७ गुणा बढी हो। जबकि तीन हजार अमेरिकी सल्लाहकारहरु देशमा रहँदा अफगान सेनाले हरेक शहर नियन्त्रण गरेको थियो। यो अमेरिकाले क्रूरतापूर्वक अफगानी सेनाको कमजोरीहरुलाई उजागर गर्यो। अफगानी सेनाको पतनलाई उत्प्रेरितसमेत गर्यो।
(काउन्सिल अन फोरेन रिलेशनको वेवसाइटबाट भावनुवाद।)