तालिबानका सह–संस्थापक मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान पुगेका छन्। वार्ताका लागि केही समयदेखि कतारस्थित दाेहामा बस्दै आएका उनी मंगलबार राजधानी काबुल फर्किएका हुन्।
कतारमा बसेर वार्ता गर्दै आएका उनी तालिबानले आइतबार काबुल कब्जामा लिएसँगै अफगान फर्किएका छन्। कान्दहार विमानस्थलबाट बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियाे बाहिरिएको छ।
को हुन् मुल्लाह अब्दुल गनी ?
मुल्लाह अब्दुल घानी बरादर सन् १९९४ मा तालिबानको गठन गर्ने मध्यका एक हुन्।
सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाएपछि उनी देश छाडेर भागेका थिए। त्यसपछि उनले विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बने।
सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारवाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१० मा पक्राउ परेका उनलाई सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो।
सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्न तालिबानले उनलाई राजनीतिक प्रमुखका रूपमा जिम्मेवारी दिएको थियो।