विपत्तिमा मन भुलाउँदै 'ट्रि हाउस'

Breaknlinks
Breaknlinks

महिनौंसम्म एकै ठाउँमा थुनिनु पर्दा के हाल होला ? न बाहिर निस्किने छुट छ, न घुमफिर गर्न पाइयो। कोभिड १९ को दोस्रो लहर चलेपछि देशभर निषेधाज्ञा जारी भयो। आपतकालीन बाहेक अरु बेला घरबाहिर ननिस्कन सरकारले उर्दी जारी ग-यो।

मान्छे उसै पनि स्वतन्त्र हुन खोज्ने प्राणी। सधैं स्वतन्त्र, सधैं निश्फिक्रि हुन चाहने मानव जाति अहिले बन्धनमा बाँधिएर बस्न बाध्य छ। टाढाको यात्रामा निस्किने त कुरै आएन। संक्रमित होइने डर उत्तिकै छ। मान्छेहरु मन भुलाउने अनेक बहाना खोजिरहेका छन्। महामारीले छोटो दुरीका गन्तव्य तय गर्ने होड नै चलेको छ।

पछिल्लो केही महिना यता तनहुँको ‘ट्रि हाउस’ले धेरैको ध्यान खिचिरहेको छ। म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनमा बनाइएको ‘ट्रि हाउस’ले यतिबेला धेरैको मन लोभ्याई रहेको छ।

चिलाउनेको रुखमाथि बनाइएको ‘ट्रि हाउस’ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा खुबै भाइरल बनिरहेको छ। हरित पार्कसहित काठैकाठको प्रयोग गरेर बनाइएको ‘ट्रि हाउस’मा केही समय यता आन्तरिक पर्यटकको घुँइचो नै लागेको छ।

अन्य जिल्लाहरुमा पनि यस्तो अभ्यास भइसकेको छ। तर, म्याग्दे गाउँपालिकामा बनाइएको यो ‘ट्रि हाउस’ ले पर्यावरण जोगाउने गरी प्लाष्टिक, आल्मुनियम र सिमेन्टको प्रयोग विस्थापित गरेको छ।

भीड बढेपछि रोक

‘ट्रि हाउस’ अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकमा भाइरल छ। लाखौं भ्युअर्स कमाई सकेको ‘ट्रि हाउस’ मा दैनिक दुई सयको हाराहारीमा घुमन्तेहरु पुग्ने गरेका थिए। घुम्न आउनेहरुको संख्या बढेपछि अहिले ‘ट्रि हाउस’ प्रस्थानमा रोक लगाइएको छ। बढ्दो भीडले कोरोना संक्रमणको दर बढाउने भन्दै अहिले ‘ट्रि हाउस’ अवलोकनमा रोक लगाइएको हो।

ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुरले रानाभाटका अनुसार मान्छेको भीडभाड बढेपछि अवलोकनमा रोक लगाइएको हो। ‘एकदमै धेरै पर्यटक आई रहनु भएको छ। सबै फिनिसिङ भइसकेको छैन’, अध्यक्ष रानाभाटले भने, ‘घुम्न आउनेहरु बढेपछि प्रतिव्यक्ति ३० रुपैयाँ टिकट बनाएका थियौं। अहिले भीड बढेपछि प्रशासनले रोक्न भनेकाले आउन रोक लगाएका छौं।’

‘ट्रि हाउस’ मा बिजुली, पार्कमा रहेको पोखरीमा पानीको फोहोरा लगाउने लगायतका काम बाँकी नै छ। ‘ट्रि हाउस’ आसपासमा रेष्टुरेन्ट समेत सञ्चालन हुनेछ।

डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरित पार्कसहित रुखमाथि बनाइएको घर बनाउन १५ लाख रुपैयाँ लगानी भएको छ। गत वर्ष पार्क र वातावरणमैत्री रुखमाथि घर बनाउन बजेट विनियोजन गरिएको थियो।

१२ लाख ५० हजार रुपैयाँ बन कार्यालयको लगानी र सामुदायिक वनले २० प्रतिशत अर्थात् दुई लाख ५० हजार रुपैयाँमा अहिलेको संरचना तयार छ।

डिभिजन बन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेका अनुसार पर्यावरण जोगाउँदै पर्यटकीय गन्तव्य थप्ने योजना अनुसार रुख घर निर्माण गरिएको हो। उनका अनुसार रुख घरमा थप संरचना विस्तार गर्न बाँकी नै छ। रुख घरले पर्यटकीय गन्तव्य थपिनुका साथै स्थानीयको आम्दानी पनि बढाउने योजना छ।

‘त्यहाँ गएर घुम्ने मात्रै होइन। स्थानीयको आम्दानीको स्रोत पनि बढाउन योजना गरिएको हो। केटाकेटी मात्रै घुम्न जाने, आम्दानीको स्रोत बढेन भने त अनर्थ लाग्छ। त्यसैले आम्दानी पनि बढाउने पर्यावरण जोगाउदै पर्यटकीय गन्तव्य पनि थप्ने योजना अनुसार योजना गरिएको हो,’ उनले ने।

यो ठाउँ पिकनिक स्पटको रुपमा प्रयोग हुने छ। पृथ्वी राजमार्गबाट करिब २ सय मिटरको दुरीमा छ ‘ट्रि हाउस’। म्याग्दे गाउँपालिका कार्यालयबाट २० मिनेट समय लाग्छ।

मोटरबाटोको विस्तारले पर्यावरण खलबलिने भएकाले म्याग्दे गाउँपालिकाबाट पर्यटकलाई पैदल हिंडाउने योजना गरिएको छ। यहाँ आवश्यक सबै संरचना पूरा गर्न १ करोड हाराहारिको बजेट विनियोजन गर्नुपर्ने डिभिजन बन कार्यालय प्रमुख काफ्लेले बताए। 

प्रकाशित मिति: : 2021-08-18 05:45:00

प्रतिकृया दिनुहोस्