म्यान्मारका सशस्त्र विद्राेही नेताले भने– सैनिक शासन ढाल्न हतियार उठाएका हाैँ

राजकुमार शर्मा

रंगून, म्यान्मार
Photo - KIA

म्यान्मारकाे सबैभन्दा ठूलाे जातीय सशस्त्र समूह कचिन स्वतन्त्र संगठन (केआईओ) का अध्यक्ष तथा विद्रोही सेनाका वरिष्ठ कमाण्डर इन् बान् ला–ले सैनिक तानाशाही 'जुन्ता शासन' को उन्मूलन गर्न म्यान्माली जनतासँग हातेमालाे गरिरहेकाे बताएका छन्।

कचिन शहीद दिवसको अवसरमा वरिष्ठ कमाण्डर ला–ले म्यान्मारकाे सैन्य शासन अन्त्य गर्न अन्य विद्राेही संघ–संगठनसँग सहकार्य गर्नेसमेत स्पष्ट पारे। उनले भने, 'राज्यकाे विभेदकारी नीतिविरूद्ध संगठित थ्रुपै समूह र हामीबीच गठबन्धनकाे प्रयास भइरहेकाे छ। बर्माका राष्ट्रवादी शक्तिहरू एकजुट हुने अवसर पनि हाे याे। सैन्य तानाशाहीको उन्मूलन गर्न जनतासँगै युद्ध मैदानमा हाेमिएका छाैँ।'

कचिन स्वतन्त्र संगठन (केआईओ) सैन्य तानाशाहीकाे शासनविरूद्ध वर्षाैदेखि निरन्तर संर्घष गरिरहेकाे उनले बताए। स्वतन्त्रताकाे अन्धकारमा बाँचिरहेका बर्मेली–जनता, प्रजातन्त्रकाे लागि लडिरहेका विद्राेही संगठनहरू र अधिकारप्राप्तिमा हाेमिएका राजनीतिक पार्टीहरूकाे गठबन्धनले संयुक्त सैन्य 'अपरेसन'को योजना बनाइरहेकाे कचिन स्वतन्त्र सेनाका वरिष्ठ कमाण्डर लाले जनाएका छन्।

सैन्य 'कू'काे एक महिनापछि देशभर राज्यविरूद्ध लडिरहेकाे केआईओका विद्राेही नेताकाे भनाइलाई म्यान्माली जनताले सामाजिक सञ्जाल र ठाउँ–ठाउँमा प्रदर्शन गरेर समर्थन जनाएका छन्। 

कचिन स्वतन्त्र सेना (केआईए)ले सरकारी सैनिकसँग म्यान्मारका विभिन्नस्थानमा लडाइँ जारी राखेकाे छ। पछिल्लाेपल्ट केआईएकाे आक्रमणबाट थ्रुपै सरकारी सुरक्षाकर्मीले ज्यान गुमाएकाे बर्मेली सञ्चारमाध्यमले जनाएका छन्।

कचिन र शान प्रान्तसँगै अन्य ठाउँका जनताले समेत विद्राेही केआईएलाई साथ दिइरहेका छन्। उनीहरूले चिकित्सा सहायता, राहत आपूर्ति र आर्थिक सहयाेग पठाइरहेकाे कचिन स्वतन्त्र सेनाका प्रवक्ताले जनाएका छन्।

राजनीतिक 'कू'गरी सत्ता हातमा लिएकाे जुन्ता सरकारले म्यान्माली जनतालाई शत्रुको रूपमा दिनहुँ गोली हानेर मारिरहेकाेप्रति केआईओ अध्यक्ष लाले आपत्ति जनाएका छन्। 'नागरिकलाई हिरासतमा लिई यातना दिने, घर जलाउने जस्ता क्रूर कार्यहरू तत्काल राेकियाेस्। यस्ताे अन्याय कचिन प्रान्तका जनताले विगत ७० वर्षदेखि भाेगिरहेका छन्,' उनले भने।


कचिन स्वतन्त्र संगठन (केआईओ)का अध्यक्ष तथा सेनाका वरिष्ठ कमाण्डर इन् बान् ला

कचिन स्वतन्त्रता सेना (केआईए)ले म्यान्मारका जनतालाई हरेक युद्ध जित्न कडा मेहनत गर्न र मानवअधिकारकाे उल्लघंन गर्नेविरूद्ध एकजुट भई लाग्न आह्वान गरेको छ।

कचिन स्वतन्त्र संगठन (केआईओ)ले संस्थापक जनरलको हत्याभएकाे दिनलाई कचिन शहीद दिवसको रूपमा मनाउँदै आइरहेकाे छ। 

नेपालीभाषीको सबैभन्दा बढी बसोबास रहेको मिचिना म्यान्मारको उत्तरी प्रान्त– कचिनमा पर्दछ। वर्षौंदेखि राज्यविरुद्ध विद्रोह गरिरहेको कचिन स्वतन्त्र संगठन (केआईओ) म्यान्मारकै प्रभावशाली राजनीतिक संगठन हो। जोसँग शक्तिशाली विद्रोही सेनासमेत छ।

केआईए कचिन जनजातिको जातीय लडाकु दस्ता हो। कचिन र शान प्रान्तमा यसको दबदबा छ। यी प्रान्तको ६० प्रतिशत कचिन स्वतन्त्र संगठन (केआईओ) काे नियन्त्रणमा छ। कचिन र कतिपय शान जातिले विद्रोही राजनीतिक आस्थालाई समर्थन गर्छन्। 

केआईओले विगत सात दशकदेखि म्यान्मारको सरकारसँग अधिकार प्राप्तिका लागि संघर्ष जारी राखेको छ। उक्त सशस्त्र समूहलाई कचिन र शान प्रान्तभित्रका अन्य जातिले पनि उत्तिकै सहयोग गर्दैआएका छन्।

सैन्य ‘कू’पछि विभिन्न स्थानमा सरकारी सुरक्षाफौज र विद्रोही जातीय समूहबीच भीडन्त भइरहेको छ। म्यान्मारमा अहिले २० भन्दा बढी जातीय सशस्त्र समूह भूमिगत वा अर्द्धभूमिगत शैलीमा उत्तिकै सक्रिय छन् जससँग शान्तिपूर्ण आन्दोलनकारीले पनि सहकार्य गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-12-30 06:00:00

प्रतिकृया दिनुहोस्