कोभिड–१९ विरुद्धको खोप खरिदका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री–डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
उक्त सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने छ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने छन्।
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु-याउने विश्वास व्यक्त गरे।
खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउदै उनले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए।
एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरेका थिए।
उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बंैकले पु-याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन पनि दिए।
यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।