जुम्ली काँचो स्याउ बजारमाः पहिचान गुम्ने खतरा

Photo - Rss
Photo - Rss

परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ। यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन्। केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु ५० का दरले स्याउ बेचेका छन्।

सो काँचो स्याउ कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत, नेपालगञ्जका बजारसम्म पुगिसकेको छ। स्याउ पूर्ण रुपमा कलर वा परिपक्का भएको  छैन। गुलियोको मात्रा पनि कम छ। काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्न खडा भएको यहाँका स्थानीय तहका कृषि प्राविधिकहरु बताउँछन्।

जुम्ला अर्गानिक स्याउको राजाधानी हो। स्याउको पहिचानको जिल्ला जुम्ला हो। यहाँका हरेक घरमा न्यूनतम ५० स्याउका बिरुवादेखि एक हजारभन्दा बढी बिरुवाका स्याउका बगैँचा छन्। यहाँका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत समेत रहेको स्याउ पछिल्लो समयमा अपरिपक्व हुँदै काँचो टिप्नाले समस्या देखिन थालेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

यही भदौ १० गतेभन्दा अगावै स्याउ नटिप्न किसानलाई आग्रह गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए। उनले भने, 'देशका ठूला नाम चलेका बजारमा जुम्ली स्याउको पहिचान निकै राम्रो छ। पूर्ण रुपमा पाकेको स्याउ लैजाँदा बजारीकरणमा समस्या पनि आउँदैन। नपाकेको स्याउ बजारसम्म पु-याउनु किसानका लागि फाइदाजनक हुँदैन। यसमा सबै किसान सचेत हुन जरुरी छ।'

नपाकेको स्याउ लैजान नदिन सडक सञ्जालसँग जोडिएका स्थानीय सरकार र प्रहरी चौकीलाई भनिएको छ। किसान र व्यापारीको अटेरिपनका कारण जुम्लाको काँचो स्याउ बजारमा पुगेको छ। सो स्याउले यहाँको पहिचान गुम्ने खतरा देखिएको उनको भनाइ छ।

भदौ महिनाको दोस्रो सातादेखि मात्र जुम्ली स्याउ परिपक्व हुन्छ। एउटा स्याउमा हुनुपर्ने गुलियोपनाले पूर्णता पाउँछ। स्याउमा पूरै कलर भरिन्छ। हेर्दे आकर्षक देखिने जुम्ली स्याउ हरियो कलरमा, टर्रो स्वादमा बिक्री हुन थालेपछि समस्या हुन थालेको छ। जिल्लाबाहिर स्याउ निर्यातका लागि सम्बन्धित गाउँपालिका तथा वडापालिकाको सिफारिस अनिवार्य हुनुपर्छ। यहाँका स्थानीय तहले स्याउ पाके/नपाकेको ख्याल नराखेर सिफारिस दिनाले समस्या भइरहेको छ।

'हरेक वर्ष नपाकेको स्याउ निर्यात गर्न सिफारिस नदिनू होला भनिराखेका हुन्छौँ। तर स्थानीय सरकारले धमाधम सिफारिस दिन्छन्', प्रमुख देवकोटाले भने, 'जुम्ली स्याउको पहिचान बचाउन स्थानीय सरकार संवेदनशील हुनैपर्छ।' अहिले नै जुम्लाको व्यापारी स्याउ खोज्दै बगैँचामै पुग्छन्। बगैँचामै पुगेको व्यापारीलाई किसानले स्याउ सहजै रुपमा दिने गरेका छन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार बगैँचामै किसानले प्रतिकिलो रु ५० देखि ६० सम्ममा स्याउ बेचिरहेका छन्।

यहाँको स्याउ सुर्खेत र नेपालगञ्ज बजारमा रु एक सय १० मा किनबेच भइरहेको छ। व्यापारीले किसानबाट स्याउ लगेर दोब्बर फाइदा असुली गरिरहेका छन् तर यहाँका किसान नपाक्दै स्याउ व्यापारीलाई दिएर पहिचान धरापमा पार्दैछन्।

परिपक्व भइसकेपछि टिपेको स्याउको मूल्य अझै बढ्न सक्ने कृषि प्राविधिकको भनाइ छ। यहाँ स्थानीय रेड, गोल्डेन, जनाथन र रोयल जातको स्याउ फल्छ। उन्नत जाततर्फ रेड र गोल्डेन जातको स्याउ फल्छ। उन्नत जातको स्याउ पूर्णकलर भरिसकेपछि मात्र टिपिन्छ।

स्थानीय जातको स्याउ नपाक्दै टिप्न थालिएको छ। स्याउले बर्सेनि करोडौँको आम्दानी भित्र्याउँछ तर स्याउको गुणस्तरमका बारेमा किसानले चासो राखेको पाइँदैन। जुम्ली स्याउ काँचो टिप्ने परिपाटीको अन्त्य हुनुपर्ने यहाँका सरोकारवाला बताउँछन्।

जुम्लामा अहिले तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। कृषि कार्यालयका अनुसार बर्सेनि स्याउको क्षेत्रफलमा वृद्धि भइरहेको छ। यो वर्ष जिल्लामा रु १६ करोड मूल्य बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-11 14:11:00

प्रतिकृया दिनुहोस्