अनुषा (नाम परिवर्तित) चिन्तित मुद्रामा हातको बूढ़ीऔँला हलाउदैँ तिलगङ्गास्थित माइति नेपालको कार्यालयअगाडि लामो लाइनमा आफ्नो पालो कुरिराखेकी थिइन्। उनी छिन–छिनमा लाइन अघि सरेको हेर्न अगाडि तन्केर हेरिराखेकी थिइन्।
हपक्क न्यानो छ। केही छिनमा नै पानी पर्लाजस्तो। साउन महिनाको बादली भएको बिहान। अनुषासहित करिब ७०–८० जना महिला लामबद्ध छन्– राहत सामग्री पाउन।
अनुषा भर्खर १६ वर्ष मात्र भएकीजस्ती देखिने किशोरी हुन्। उनी टिनएज नाघेकी छैनन्। त्यहाँ लामबद्ध नारीमध्ये उनी सबैभन्दा कम उमेरकी जस्ती देखिन्छिन्। उनी त्यहाँका कान्छीमध्ये कि एक थिइन। 'माइती नेपाल' कि संस्थापक अनुराधा कोइरालाले राहतस्वरुप वितरण गरेको खाद्य–सामग्री र पैसा लिन उनीहरु महिलाहरु लामबद्ध छन्।
त्यस्तै, ११ बजेर केही मिनेट गएको हुँदो हो, जाँदा 'माइती नेपाल' को ढोका खुल्यो। सबै महिलाहरु एक–एक जना गरी लामबद्ध भएर भित्र प्रवेश गरे। गत साल महामारीले देशलाई लपेटेसँगै राहतका लागि लाग्ने यस्ता लामहरु सामान्य भएका छन्।
माइती नेपालको अगाडि लागेको उक्त लाइन अरुभन्दा भिन्न थियो किनकि यो लाममा पंक्तिबद्ध धेरैजसो नारीहरु यौनकर्मीहरु थिए। एक चौथाई जति भूतपूर्व यौनकर्मी थिए, जसले भर्खरै मात्र यो धन्दा छाडेका थिए।
माइती नेपालको परिसरमा प्रवेशपछि सबैलाई स्यानिटाइजर दिइयो। त्यहाँका कर्मचारीले सबैको सम्पर्क विवरण टिपे। अर्का कर्मचारीले सबैलाई २५ किलोको एक बोरा चाम, २५ सय रुपैयाँ अनि नून, तेल , चिनी, चियापत्ती, चना, चिउरा, मास्क र एउटा सरसफ़ाई किट लगायतका आवश्यक सामग्री भएको झोला हस्तान्तरण गरे।
अनुराधा कोइराला बेला–बेलामा मूलढोकामा आएर चियाउँथिन्– कोही वृद्धा वा बच्चा बोकेका महिला छन् कि भन्दै। उनी बाहिर नियाल्थिन्। भन्दै थिइन्– कोही त्यस्तो भए उनीहरुलाई लाइन नबसी अघि जान दिनू।
अनुराधा कोइरालाका अनुसार, गत वर्ष मात्रै उनको समूहले तीन हजार पाँच सयभन्दा बढी यौनकर्मी र पूर्व यौनकर्मीलाई काठमाडौं र काँकरभिट्टा, नेपालगञ्ज, इटहरीलगायत देशका अन्य १०० भन्दा बढ़ी शहर–बजारहरुमा खाद्यान्न र नगद सहयोग गरेको थियो। उनले उक्त राहत–सहयोग माइति नेपालद्वारा नभई व्यक्तिगत सहयोगको पहल भएको पनि बताइन्।
'यो सबै मैले गत वर्ष पढेको एउटा समाचारको प्रभावस्वरुप सुरू भएको थियो। समाचारमा भनिएको थियो– धेरै यौनकर्मीहरु महामारीले गर्दा कामबिहीन भएका छन्, धेरैजसो हातमुख जोर्न र बहाल तीर्न संघर्ष गरी रहेका छन्। त्यस क्षेत्रमा लामो समय काम गरेको कारणले गर्दा उक्त खबरले मलाई महामारीले यौनकर्मीहरुमाथि परेको प्रभाव बोध भयो। मलाई लाग्यो– मैले केही गर्नै पर्छ,' चेलीबेटी बेचविखनविरुद्ध जीवनभरि काम गरेकी कोइरालाले भनिन्, 'मैले मेरा मित्रहरु र शुभचिन्तकलाई सोधेँ– कोही आर्थिक सहयोग गर्न इच्छुक हुनुहुन्छ ? म भाग्यमानी छु– त्यसैले धेरै जना अघि सर्नुभयो। गत वर्ष हामीले पहिलो पटक खाना र पैसा वितरण गरेका थियौँ। '
कोइरालाले माइति नेपालको स्थापना गरेको २८ वर्ष भइसकेको छ। उनी त्यसयताका वर्षहरुमा महिला बेचबिखन र देह–व्यापारविरुद्ध उठ्ने अग्रज आवाज भएकी छिन्।
'मैले वर्षौंदेखि यो कामको विपक्षमा बोलिरहेकी छु किनकि मसँग यो कालो पेशा र यसले यौनकर्मीमा पार्ने नकारात्मक शारीरिक र मानसिक प्रभावको प्रत्यक्ष अनुभव छ,' कोइरालाले भनिन्, 'यति विघ्न चुनौतीको बावजुद धेरै महिला यस क्षेत्रमा संलग्न छन् किनकि उनीहरु विवश छन्। मेरो यो पेसासँग जति असहमति भए पनि उनीहरुको अगाडि कति चुनौती छ र यसले कति असर पारेको छ भन्ने जानेकाले सहयोग गर्नैपर्छ।'
माइती नेपालको कार्यालय चामलका बोरा बोकेका महिलाहरुले भरिए। अनुषाले नियालेर हेरिन्।
'म वितरण भइरहेको खाद्यान्न र नगर मैले पनि पाउने छु', गेटछेउ पुगेकी सुमित्राले भनिन्। 'मलाई भनिएको छ– यहाँ सबैलाई पुग्नेगरी राहत बाँकी छ। यो राहतमै म आगामी केही महिना कसरी रहने छु भन्नेमा निर्भर हुने छ।'
अनुषालाई राम्रो अनुमान छ– प्राप्त सहयोग ले कति महिना कट्छ। 'एक बोरा चामलले मलाई तीन महिना पुग्छ, दाल अली बेसी पुग्छ कि ! २५०० रुपैयाँले चाहिँ म खाना पकाउने ग्याँस सिलिण्डर भर्छु। यति भए पछि अबको तीन महिनाको खाना कताबाट आउँछ भन्ने चिन्ता हुन्न', उनले भनिन्।
अनुषा चार वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौँ आएकी थिइन्। पहिलो वर्ष उनी सधैँ स्कूल गइन्। आफ्ना पिताले गाउँबाट पठाएको पैसाको भरमा जेनतेन गुजारा गरिन्।
'थोरै पैसामा यो सहरमा बाँच्न सहज थिएन, ' उनले भनिन्, 'घरको जेठो सन्तान म। मेरा चार जना भाइ–बहिनी छन्। मेरा प्यारा बुवा घर एक्लैले पाल्नुपर्छ र मलाई थाहा छ– उहाँलाई घरखर्च टार्न एकदमै धौ–धौ पर्छ।'
उनले पिताले पठाएको पैसामा एक वर्ष गुजारा चलाए पनि पछि उनी बाबुको काँधबाट बोझ हटाउने निर्णय गरिन्। एउटा साथीको सहयोगमा उनले रेष्टुरेण्टमा काम पाइन्। उनी त्यहाँ वेट्रेस थिइन्। बिस्तारै मालिकले उनीकहाँ ग्राहक पठाउन थाल्यो। त्यसपछि उनी दैनिक चार–पाँच जना ग्राहकसँग सुत्न थालिन्।
'मलाई हरेक महिनाको १० हजार र दिनको दुईछाक खाना सुविधा थियो, ' अनुषाले भनिन, 'पैसा धेरै त थिएन तर मलाई स्कूल फी तिर्न र अरु खर्च गर्नको लागि पुग्थ्यो। थोरै कमाइले पनि मलाई आत्मनिर्भर बनायो, यो मेरालागि मलाई एकदमै जरूरी थियो।'
०७६ सालको चैत ११ मा सरकारले पहिलो चोटी लकडाउन गर्यो। त्यसपछि अनुषा कामबिहीन भइन्। उनले सुनाइन्, ''सन् २०२० भरि त कामबिना एकदमै गाह्रो भयो। मलाई लागेको थियो– अर्को साल राम्रो हुनेछ। माघ-फागुनतिर मेरो पुरानो मालिकले फेरि काममा आऊ भन्यो। बैसाख लागेपछि फेरि निषेधाज्ञा जारी गर्यो। त्यसपछि म फेरि काम बिहीन भएँ।'
'अनुषालाई आफ्नो पेशाबारे के लाग्छ त र?', उनी भन्छिन, 'म बाँच्नका लागि के गर्छु, त्यसमा लाज छैन। त्यतिखेर मैले त्यो गरेँ, जुन मलाई बाँच्नका लागि गर्नुपर्यो। मसँग अरु उपाय भएको भए म शरीर बेच्ने पेशामा होमिने थिइनँ। यो एकदमै जोखिमपूर्ण काम हो। धेरै ग्राहकहरु त शारीरिक रुपमा अपमानजनक व्यवहार गर्छन,' उनले भनिन्, 'अरु राम्रो काम पायो भने म यो पेसा छाड्छु।'
माइती नेपालमा राहत वितरण चल्दैगर्दा अनुराधा कोइराला उद्देश्य अर्को पनि थियो– अनुषाजस्तै पेशा छाड्न चाहनेहरुका लागि सहयोग र समर्थनको ढाडस दिनु।
राहत वितरणमध्यतिर ७२ वर्षीया कोइरालाले सानो व्यापार सुरु गर्न इच्छुक एक सय महिलालाई १३ हजार रुपैया र ठेलागाडा सहयोग गर्ने बताइन्। 'विभिन्न संघ–संस्थासँगको साकार्यमा हामीले सीपमूलक प्रशिक्षण दिने छौँ। हामी अहिले एक्साभेटर अपरेटर, ब्यूटिसियन र सफा ट्याम्पो चालकहरुका लागि प्रशिक्षण दिने छौँ। अरु विकल्प चाँडै थापिने छ ,' कोइरालाले भनिन्।
राहत कार्यक्रमको लाभार्थीहरुमध्ये अर्की एक २० वर्षीया परिधी (नाम परिवर्तित) पनि छिन्। उनी काठमाडौंको एक अग्रणी ब्यूटी सैलुनमा एक ब्यूटिशियन बन्न प्रशिक्षण गरिरहेकी छिन्। तीन भाइ–बहिनीमध्ये जेठी परिधी आफ्ना बाबु बित्दा मात्र १२ वर्षकी थिइन्। उनको परिवारमा बाबु एक जना मात्र कमाउने सदस्य थिए।
'मेरी आमा बर्षौ देखि अस्वस्थ हुनुहुन्थ्यो, उहाँ काम गर्न सक्नुहुन्न। मेरो बुबाको मृत्युपछि परिवारको हेरचाह गर्ने जिम्मेवारी मेरो भयो,' उनी भन्छिन्।
बुबाको मृत्यु भएको एक वर्षपछि परिधी काठमाडौं आइन्। अनि घरेलु कामदारको रुपमा काम गर्न थालिन्। 'मेरो मालिकले मलाई समयमा तलब कहिल्यै दिएनन्,' उनले भनिन्।
१६ वर्षे उमेरमा राम्रो पैसा कमाउने आशमा उनी डान्सबारमा काम गर्न थालिन्। 'मैले डान्सर/ यौनकर्मी भएर कमाएको पैसा त मेरो पुरानो काममा भन्दा बढी थियो तर काम गर्ने वातावरण पटक्कै राम्रो थिएन। ग्राहकहरुले एकदमै अपमानजनक व्यवहार गर्थे, कत्तिले त पैसा तिर्न पनि मान्थेनन्,' परिधीले भनिन्।
महामारीको कारण बार र रेस्टुरेण्ट बन्द हुँदा परिधिले पनि काम गुमाइन्। 'गत वर्षको अन्त्यतिर जब व्यवसायहरु खुल्न सुरू भयो, मेरा रोजगारदाताहरुले ग्राहकहरुको कमी भएका कारण मलाई पुनः काममा लिन अस्वीकार गरे,' उनले भने, 'त्यो तब भयो जब मैले यो पेशालाई राम्रोका लागि छोड्ने निर्णय गरेँ।'
महिनौँदेखि कामको खोजीमा रहे पनि महामारीको चपेटामा परेपछि परिधीले स्थायी जागिर पाइनन्। निराश भएर उनी दुई साताका लागि ज्यामी–मजदुरको रूपमा काम गरिन्। यो अनुभवले उनलाई फेरि यौन पेशामा कहिल्यै नफिर्ने हिम्मत आयो। उनलाई अब केही सीप आवश्यक भएको महसुस भयो।
'जब मैले अनुराधा दिज्जुलाई एक महिनाभन्दा पहिले भेटेँ। उहाँले मलाई मलाई ब्यूटीशियन प्रशिक्षण कोर्समा नि:शुल्क भर्ना गराउनुहुन्छ, म खुशी छु,' उनले भनिन्, 'केही महिनामा म एक प्रशिक्षित ब्यूटीशियन हुनेछु। म अवसर का लागि दीज्जुप्रति आभारी छु।'
अनुषा र परिधि दुवैको समान भोगाइ छ– यो महामारीग्रस्त संसारमा जागिर भेट्न सजिलो छैन। 'यस्तो बेलामा काम भेट्न एकदमै मुस्किल छ,' अनुषाले भनिन्, 'अनुराधा दिदीको खाद्यान्नले मलाई केही महिना त पुग्छ तर मलाई जागिरको एकदमै खाँचो छ। मैले घरभाडा नतिरेको पाँच महिना भयो। भाडा नतिरे म र मेरा भाइबहिनीलाई घरबाट निकालिदिन्छन्।'
अनुषा यौन–पेशा छाड्ने सोचमा छिन्। उनले भनिन्, 'उनी परिधिको कुरासँग रिलेट गर्न सक्छिन्। अनुषाले भनिन्, 'म पनि यौनकर्म छोड्न चाहन्छु तर अहिलेको स्थिति कति खराब छ भन्ने मलाई राम्ररी थाहा छ। जागिर पाउन सजिलो छैन।'
अनुषा र परिधी दुवैले अनुराधा कोइरालासँग आफ्नो व्यथा पोखेका छन्। उनले घरबहाल तिर्न र जागिर खोज्न सहयोग गर्ने आश्वासन पनि दिएकी छिन्। आफूसँग घरबहाल तिर्न धेरै महिलाहरुले सहयोग माग्दैआएको कोइराला बताउँछिन्। 'सबैलाई एकैपटक आर्थिक सहयोग गर्न संभव छैन। त्यसैले मैले केही व्यवसायीहरुलाई यी महिलालाई काममा लगाउन भनेको छु,' कोइरालाले भनिन्, 'सरकारले सुनिश्चित गर्नुपर्छ– सबै पृष्ठभूमिका महिलालाई सरकारका महिला केन्द्रित गतिविधि पहुँचमा छन्। नागरिकता नभएका महिलाहरुको लागि त यो अझै गाह्रो छ, जसको कारणले गर्दा उनीहरु धेरै अवसरबाट बञ्चित हुनुपर्छ।'