कोरोना खोप : २१औं शताब्दीको अभूतपूर्व 'सेन्सरसिप'   

अभय पाण्डे

काठमाडौं

कोविड–१९ विरुद्धको खोपको पृष्‍ठभूमि त्यति बेला नै तयार भइसकेको थियो, जति बेला यो भनियो कि यो एक नयाँ (नोवल) भाइरस हो। यसको आशय यो होइन कि खोपकै लागि यो भाइरसलाई नयाँ भनिएको हो। यसभन्दा अघिल्लो कोरोना महामारी ल्याउने भाइरस सार्स कोवी–१  र यसपालिको सार्स कोवी–२ बीच ८० प्रतिशत वंशाणुगत समानता छ। त्यस कारण यो त्यति नयाँ भाइरस थिएन। 

एकछिनलाई मानौँ– २० प्रतिशत भनेको ठूलो भिन्नता हो। महामारीको एक–दुई महिना नबित्दै यो थाहा भइसकेको थियो कि सङ्क्रमितमध्ये ८० प्रतिशत बिनाकुनै उपचार ठीक हुन्छन्। यसको मतलब यो भाइरस वैज्ञानिकका लागि नयाँ भए पनि हाम्रो रोग प्रतिरोधी प्रणालीलाई भने नयाँ थिएन।यति थाहा हुँदा पनि यसलाई नयाँ नै भनियो।

नयाँ भाइरसको कुनै उपचार हुने त कुरै भएन। त्यसैले यसबाट सङ्क्रमित सबैलाई श्वास फेर्न गाह्रो नहुञ्जेल अस्पताल नआउन भनियो। आफ्नो आँखाअगाडि बिरामीहरु मृत्‍युको ढोकामा नपुगुञ्जेल उपचार नपाउनेस्थिति देखेर अमेरिकामा एकथरि डाक्टरहरुले ‘फ्रन्टलाइन कोविड–१९  क्रिटिकल केयर अलायन्स (एफएलसीसीसी)  को गठन गरे। 

समुहका हिसाबले यो संसारमा सबैभन्दा धेरै शोधपत्र प्रकाशित गर्ने समूह मध्येको हो।  उनीहरुले शीघ्र उपचार (अर्ली ट्रिट्मेण्ट) को 'प्रोटोकोल' पनि तयार पारे। बेलायत, अष्ट्रेलिया र अन्य मुलुकहरुमा पनि एकथरी डाक्टरहरुले यस्तै किसिमका समूहहरु बनाए। 

विश्व विख्यात अमेरिकी डाक्टर पिटर मकलौले सन् २०२० को अगस्तमा विभिन्न देशका करिब दुई दर्जन  वैज्ञानिकहरुसँग मिलेर शीघ्र उपचारसम्बन्धी अध्ययन अमेरिकाको एक प्रतिष्ठित जर्नलमा (अमेरिकन जर्नल अफ मेडिसिन) प्रकाशितसमेत गरे। 

पिटर मकलौ आफ्नो क्षेत्र ( मुटु तथा मिर्गौला ) मा इतिहासमै सबैभन्दा बढी अध्ययन प्रकाशित गर्ने डाक्टर हुन्। यति सबै हुँदाहुँदै पनि पश्चिमा सरकारहरु र विश्व स्वास्थ्य संगठनले शीघ्र उपचारलाई मान्यता दिएन। यसअघि सन् २०२० मार्चसम्म आइपुग्दा अमेरिकी प्रशासनले खोप बनाउन 'अपरेसन वार्प स्पीड' को घोषणा गरिसकेको थियो। 

अभूतपूर्व सेन्सरशिप 

सन २०२० को फेब्रुअरी  महिनातिर युरोपमा लकडाउन सुरु भयो। लकडाउन मानव इतिहासमै पहिलोपटक गरिएको प्रयोग थियो। त्यो सँगसँगै  मास्क  र सामाजिक दूरीको पनि नियम लागू भयो। 

सुरुवाती दिनमै अमेरिकाको रक फेलर विश्वविद्यालयमा २० वर्ष  शोधकार्य गरिसकेका  नुट विट्काव्स्कीले आफ्ना अन्तर्वार्ताहरुमा मास्क र लकडाउनजस्ता उपायहरुले श्वास प्रश्वाससम्बन्धी महामारी नजाने दाबी गरेका थिए। उनका सबै अन्तर्वार्ता युट्युबले निकालिदियो। आखिर लकडाउनले महामारीलाई रोकेन। 

मास्कको प्रभावकारिताबारे  बैज्ञानिकबीच एकमत छैन। यो एउटा विवादित विषय छ। एकथरि  अध्ययनले यसलाई प्रभावकारी भएको निष्कर्ष निकालेका छन् भने अर्काथरिले यसलाई निष्प्रभावी  बताउँछन्।  

मास्कलाई लिएर केही महिनाअघि डेनमार्कमा गरिएको रेन्डमाइज्ड कन्ट्रोल ट्रायल (आरसीटी ) ले घरबाहिर मास्क लगाउनु र नलगाउनुबीच तात्विक भिन्नता नहुने निष्कर्ष निकाल्यो। 

त्यो शोधपत्र कुनै पनि 'प्रतिष्ठित' जर्नलले छाप्न मानेनन् जबकि  आरसीटीलाई शोधकार्यको स्वर्णमान  मानिन्छ। यस्तो अध्ययन बिरलै हुने गर्दछन्। पछि उनीहरुले ‘एनल्स अफ इन्टर्नल मेडिसिन’ नामक जर्नलमा प्रकाशित गरे तर पनि विज्ञानको ‘प्रिकसनरी प्रिन्सिपल' (वैज्ञानिक अनिश्चितता कुनै कम खर्चिलो उपायको बाधक हुनुहुँदैन भन्ने सिद्धान्त) का आधारमा वैज्ञानिक समुदायमा यसको खासै विरोध  हुँदैन।  विडम्वना ! यो सिद्धान्त शीघ्र उपचारमा चाहिँ लागू भएन।

'डार्क हर्स' नामक पोड्कास्टको सञ्चालन ब्रेट वाइन्स्टाइन नामक चर्चित व्यक्तिले गर्दछन्। उनका कतिपय भिडियो 'यु–ट्युब' ले या त हटाएको छ या 'डिमोनेटाइज' गरेको छ। यी तिनै भिडियो हुन् जसमा उनले खोपको सुरक्षालाई लिएर कार्यक्रम चलाएका थिए। 

सुचारिद भक्दी जर्मनीका पुरस्कृत वैज्ञानिक हुन्।  खोप आम मानिसलाई वितरण गर्नुभन्दा महिनौँ पहिले उनले जिनमा आधारित खोप जस्तै :– फाइजर, मडर्ना, जेन्सन, आस्ट्रा जेनिका (कोभिसिल्ड) ले रगत जम्ने र अटो इम्युन (रोग प्रतिरोधी प्रणालीले आफ्नै शरीरको कोशलाई आक्रमण गर्ने) को समस्या निम्त्याउने भविष्यवाणी गरेका थिए। उनको भिडियो यु–ट्युबले या त डिलिट गरिदिन्थ्यो या त म्युट।

माइकल यिडेन  फाइजरकै भूतपूर्व उपाध्यक्ष हुन्। उनी लकडाउन र मास्कको उपयोगिता (विशेष गरी घरबाहिर) माथि मात्र प्रश्न उठाउने होइन, अन्दाधुन्द सबै उमेर समूहका मानिसलाई खोप बाध्यकारी बनाउने नीतिको विरोध पनि गर्छन्। खोपको सुरक्षाका विषयमा पनि उनी आवाज उठाउँछन्। उनी आफ्नो यही विचारका कारण मूलधारका मिडियाबाट बहिस्कृत छन्।

एफएलसीसीसीका एक प्रमुख सदस्य डाक्टर पिएर कोरीले सन् २०२०को मेमा कोविड निमोनियामा कोर्टिकोस्टेरोइडको (स्टेरोइड) प्रभावकारितालाई लिएर र डिसेम्बर २०२० मा कोविड–१९ को रोकथाम र उपचारमा आइेभर्मेक्टिनको प्रभावकारितालाई लिएर अमेरिकी सिनेटमा बयान दिए।  उनको पछिल्लो  बयान यु–ट्युबले हटाइदियो। 

देशको सर्वोच्च लोक्तान्त्रिक संस्थामा दिएको बयान युट्युबले 'गलत जानकारी' भनेर हटाउने ? शीघ्र उपचार गर्नुपर्ने आफ्नो अडानका कारण उनले तीनपटक जागीरबाट हात धोइसकेका छन्। इजरेल र नेदरल्याण्डको डाटामा आधारित भएर खोपको जोखिम/लाभ सम्बन्धी समीक्षित (पियर रिव्युड) शोधपत्र साझा गरेको र १८ वर्षमुनिका मानिसलाई खोप लगाउने स्वीकृतिमा आफ्नो असन्तुष्टि जनाएपश्चात् रोबेर्ट मलोन नामक वैज्ञानिकको एकाउण्ट लिन्केडेनले बन्द गरिदियो।  

२० वर्षअघि नै आरएनए प्रविधिको  आधारभूत खाका  विकसित गर्ने वैज्ञानिक हुन्– रोबेर्ट मलोन। उनकै  प्रविधिको विकसित रूप हो– फाइजर र मडर्नाका एमआरएनए खोप। एमआरएनए खोपको सुरक्षालाई लिएर उनले जनाएको चिन्ता सम्बन्धी भिडियो  फेसबुकले ‘रोयटर्स’ नामक समाचार एजेन्सीको हावाला दिँदै 'गलत सूचना' भन्दै चेतावनी दिन्छ।

जेलिएको सम्बन्ध

रमाइलो कुरा के छ भने रोयटर्सका निबर्तमान कार्यकारी प्रमुख र रोयटर फाउन्डेसनका बर्तमान अधक्ष्य जिम स्मिथ् खोप निर्माता फाइजरको बोर्ड सदस्य पनि छन। माइक पापाण्टोनियो नामक अमेरिकाका एक प्रबुद्ध वकीलले आफूले चलाउने टीभी कार्यक्रममा बताएअनुसार सीबीएसलाई छोडेर अमेरिकाका सबै ठूला मिडिया कम्पनीका कमसेकम एक बोर्ड सदस्य कमसेकम एक औषधि कम्पनीमा पनि बोर्ड सदस्य छन्। 

त्यसमाथि औषधि कम्पनीहरुले वर्षेनी करिब सात अर्ब अमेरिकी डलर विज्ञापनमा खर्च गर्छन्। यसको एक हिस्सा 'प्रतिष्ठित' मेडिकल जर्नलहरुलाई पनि जान्छ। विज्ञापनपछि जर्नलहरुको अर्को मुख्य आयस्रोत भनेको उसको बिक्री हो (रि–प्रिण्ट), जसको ठूलो क्रेता भनेका यिनै औषधि कम्पनीहरु हुन्। यहाँ शोधकर्मका बारेमा पनि चर्चा गर्नु प्रासङ्गिक नै हुनेछ। विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरुको 'करिअर'  विकास कसले कति 'रिसर्च फन्ड्' ल्याउँछ र कति शोधपत्र प्रकाशित गर्छ भन्ने कुरामा पनि आधारित हुन्छ। 

'मेडिकल रिसर्च फण्ड' को  सबैभन्दा ठूलो स्रोत भनेको जनस्वास्थ्य एजेन्सी हुन्। कसले कुन विषयमा 'ग्रान्ट' (अनुदान) पाउने हो, यो तिनै एजेन्सीले तय गर्दछन्। कतिपय शोधकार्यको प्रायोजन औषधि कम्पनीले गर्दछन्। 

रमाइलो कुरा के छ भने 'घोस्ट राइटिङ' साहित्य आत्मकथा वा राजनैतिक भाषणमा मात्र हुँदैनन्। सोधकार्यमा पनि हुन्छ। 'पेपर' यी औषधि कम्पनीले तयार पार्छन्। नाम चाहिँ प्राज्ञिक क्षेत्रमा काम गर्ने डाक्टर वा वैज्ञानिकको हुन्छ।  अहिले कोविड वा खोपका सम्बन्धमा जति पनि बिमतिहरु आउछन, ती अधिकांशत:  सेवानिवृत्त वैज्ञानिकहरुबाट आउने गर्छन्। 

पिटर मकलौले तयार पारेको शीघ्र उपचारसम्बन्धी जानकारीमूलक भिडियो पनि यु–ट्युबले हटाइदियो। स्मरणीय छ, यु–ट्युबको 'प्यारेण्ट' कम्पनी 'गूगल' हो जसले सन् २०१८ मा 'भ्याक्सिटेक' नामक कम्पनीमा दुई करोड अमेरिकी डलर लगानी गरेको थियो। यो कम्पनीले पछि अक्स्फोर्ड विश्वविद्यालयसँग मिलेर कोविड–१९ विरुद्द खोपको निर्माण गर्‍यो। त्यो खोपको नाम हो– आस्ट्राजेनिका, जो भारतमा कोवी शिल्डको नामले उत्पादन हुन्छ।

त्यस्तै, अमेरिकाको मडर्ना नामक कम्पनीमा अमेरिकी सुरक्षा एजेन्सी, डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी (छोटकरीमा जसलाई डार्पा भनिन्छ) को लगानी छ। एउटा अर्को सरकारी एजेन्सीले पनि मडर्नालाई जम्माजम्मी करिब एक अर्ब डलर प्रदान गरेको छ।

मडर्ना कम्पनीले अहिले मडर्ना खोपको निर्माण गरेको छ जसको प्रविधिको विकास एक जनस्वास्थ्य एजेन्सीले गरेको हो। इतिहास केलाउने हो भने डार्पाको सम्बन्ध फाइजर कम्पनीसँग पनि छ। एक विज्ञका अनुसार, अमेरिकामा खोप कार्यक्रमको प्रायोजक भनेको अमेरिकी सरकार हो। यसको उत्पादक अरु कम्पनी हुन्। तसर्थ एक प्रायोजकका हिसाबले उसलाई आफ्नो कार्यक्रमलाई जसरी भए पनि सफल बनाउनु नै थियो। 

यी 'सेन्सरसिप' का केही प्रतिनिधि घटना मात्र हुन् जुन पंक्तिकारको सङ्यानमा आए। सेन्सरसिपका  यस्ता असन्ख्य उदाहरण हुनुपर्दछ भनेर सहजै अनुमान लगाउन सकिन्छ।  

ट्रस्टेड न्युज इनिसिएटिव (टीएनआई) :  प्रमुख सेस्नर अधिकृत 

ट्रस्टेड न्यूज इनिसिएटिव (टीएनआई) संसारका ठूला मिडिया र टेक संस्था– जस्तै :  फेसबूक, युट्युब आदि) हरुको सहकार्य हो, जसले संसारभरि गलत सूचनासँग लड्ने बिडा उठाएको छ। हालसम्म यसको सदस्यमा एपी, एएफपी, बीबीसी, सीबीसी रेडियो (क्यानाडा ), युरोपियन ब्रोड्कास्टिङ युनियन, फेसबूक, फाइनान्सिअल टाइम्स, फर्स्ट ड्राफ्ट, गुगल/यु–ट्युब, द हिन्दू, माइक्रोसफ्ट, रोयटर्स, ट्विटर र वाशिङ्टन पोस्ट आदि छन्।

गत डिसेम्बेरमा खोप निस्कनु केही अगाडि यसले एउटा नयाँ बिडा उठाउने सहमति गर्‍यो। त्यो हो– खोपका सम्बन्धमा गलत सूचनालाई रोक्ने। आम मानिसका लागि अब यसैले निर्णय गर्छ– कुन वैज्ञानिक सहि  हुन्, कुन गलत। कुन वैज्ञानिक शोध सही हो, कुन गलत। कुन वैज्ञानिक विचार  वा शोधलाई बढावा दिने, कुनलाई सेन्सर गर्ने।  

बिडम्बना नै भन्नुपर्छ– समाजमा कस्तो वैज्ञानिक बहस चल्नु पर्छ, त्यो यी मिडिया र टेक प्लाट्फर्मले निर्णय गर्छन तर विज्ञान भनेको एउटा कथा होइन। यो बहु–कथा हो। यिनै बहु–कथाको आपसी द्वन्द्वबाट विज्ञान अघि बढ्छ।

बुझ्नुपर्ने कुरा के हो भने चिकित्सा विज्ञानमा 'ब्ल्याक एण्ड व्हाइट' भन्ने कुरा हुँदैन। यो धेरैजसो 'ग्रे एरिया' मा काम गर्छ।  यसका अधिकांश निष्कर्ष अन्तर–सम्बन्धीय (को–रिलेसनल) हुन्छ, कारण ठम्याउने (कजेसनल) हुँदैनन्। 

खोपको आपतकालीन प्रयोग अनुमति

दर्जनौँ 'अब्जर्वेसनल ट्रायल', दर्जनौँ 'र्‍यान्डमाइज्ड कन्ट्रोल' ट्रायल र हाल केही 'मेटा स्टडिज'ले 'आइभर्मेक्टिन' (जुन मूलत: 'प्यारासाइट' को औषधि हो) कोविड–१९ को रोकथाम र उपचारमा प्रभावकारी हुने देखाए पनि न त विश्व स्वास्थ्य संगठन न त पश्चिमा सरकारहरुले यसलाई गम्भीरतापूर्वक लिएका छन्। 

माइकल यिडनका अनुसार, यदि शीघ्र उपचारले मान्यता पाएको भए (जसमा आइभर्मेक्टिन आदि पर्दछन्) बेलायतमा मात्र हजारौँ मानिसको ज्यान जोगिन्थ्यो। अमेरिकामा ५० प्रतिशत ज्यान जोगिन सक्थ्यो भन्ने पिटर मकलौको अनुमान छ। 

अर्कोतर्फ, यदि शीघ्र उपचार वा आइभर्मेक्टिनले मान्यता पाएको भए खोप कार्यक्रमलाई स्थगित गर्नुपर्ने हुन्थ्यो। किन ? किनकि, यी खोपले अमेरिका र अन्य  देशमा आपतकालीन प्रयोगअन्तर्गत अनुमति पाएका हुन्।

अमेरिकी नियामक संस्था एफडीएको मार्गदर्शिका अनुसार कुनै उपचार सामग्रीको आपतकालीन प्रयोगको अनुमति त्यति बेला दिइन्छ, जब त्यसको अनुमोदित र सजिलै उपलब्ध विकल्प हुँदैन तर पश्चिमा सरकारलाई जसरी भए पनि खोप अभियान सुरु गर्नु थियो। खोप अन्तिम विकल्प थियो उनीहरुका लागि।

औसतन ०.२३ प्रतिशत सङ्क्रमण मृत्‍यु दर (संभवत: संसारका सबैभन्दा ठूला माहामारीविज्ञ प्राध्यापक जन आयोनिडसका अनुसार)  भएको रोगलाई १०० प्रतिशत मृत्‍युदर प्रतीत हुने गरी जुन त्राशको माहोल पश्चिमाले आफैँ सिर्जना गरे, त्यसबाट मुक्ति दिने र अर्थतन्त्रलाई माथि उकास्ने एक मात्र अस्त्र खोपलाई नै मानियो।  

खोप : कति प्रभावकारी, कति सुरक्षित ?

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यी कुनै पनि खोपलाई पूर्ण स्वीकृति प्राप्त भइसकेको छैन। यी सबैलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो। एक हिसाबले भन्ने हो भने यी सबै प्रयोगात्मक खोप हुन्। ‘जिन’ मा आधारित खोप (फाइजर, मडर्ना, जेन्सन, कोविसिल्ड) नित्तान्त नयाँ प्रविधिमा अधारित छन्। 

सुरु–सुरुमा यिनको प्रभावकारिता राम्रै बताइएको थियो। 'डेल्टा भेरिअन्ट' को आगमनपछि यसको प्रभावकारिता राम्रोबाट ठीकैमा झरेको छ। यिनको असली प्रभावकारिता हेर्न महामारीकोको अन्त्यसम्म कुर्नुपर्ने छ। 

भाइरस धेरै परिवर्तित भएको खण्डमा कुनै पनि खोप काम नलाग्न सक्छ। त्यसलाई 'इम्युन एस्केप' को स्थिति भनिन्छ। इजरेलमा ६० प्रतिशत जनसङ्ख्याले फाइजरको दुवै डोज पाइसकेका छन। अहिले इजरेलमा कोरोना सङ्क्रमणबाट अस्पातालमा भर्ना हुनेमध्ये ६० प्रतिशत दुवै डोज पाइसकेका मानिस छन्। 

सामान्यत: अभूतपूर्व खोप तयार पार्न १० वर्षदेखि १२  वर्ष लाग्छ। यी सबै खोप एक वर्षमा बनेका हुन्। त्यसैले पनि कयौँ विज्ञहरु यसको प्रभावकारितामा नभए पनि यसको सुरक्षामा शङ्का गर्दछन्। यसको प्रतिकूल असर सबै मानिसमा देखिन्छ भन्ने होइन। जस्तो, कोविड रोगको गम्भीर असर सबैमा देखिँदैन।  

सम्भवत: थोरै मानिसमा हुनसक्छ तर खोपको प्रतिकूल असरको अनुमगन गर्ने स्वतन्त्र निकाय जति बेलासम्म अस्तित्वमा आउँदैनन्, त्यति बेलासम्म कति जना मानिसलाई वा कस्ता मानिसलाई भएको हो वा हुनसक्ने भन्ने कुराको यकिन गर्न सकिँदैन। 

अहिले उपलब्ध खोपमध्ये कुनै परम्परागत प्रविधि प्रयोग गरेर बनाइएका छन्  (जस्तै: वेरो सेल) भने कुनै नौलो प्रविधि (जिनमा आधारित्) प्रयोग गरेर बनाइएका छन्, जस्तै : फाइजर, मडर्ना, आस्ट्रा जेनिका (जसलाई यता कोवी सिल्ड भनिन्छ) र जेन्सेन। 

रमाइलो कुरा के छ भने खोप लगाएपछि कुनै शारीरिक हानी भए खोप निर्मातालाई मुद्दा हाल्न सकिँदैन। अमेरिकामा यो छूट ( इम्युनिटी ) कानूनी रुपमा लिपिबद्ध छ। अन्य मुलुकमा सामान्यतया त्यही शर्तमा खोप निर्माताहरुले खोपको आपूर्ति गर्दछन्।

सुसूचित स्वीकृति

खोपको प्रतिकूल असर सबैलाई हुँदैन। संभवत थोरै मानिसलाई हुन्छ। यसको दीर्घकालीन प्रतिकूल असर के हुन्छ ? त्यो अहिले नै भन्न सकिँदैन। त्यसमाथि यी जिनमा आधारित खोप नयाँ प्रविधिमा आधारित छन्। यसबाट हुनसक्ने सबै खाले अल्पकालीन र दीर्घकालीन असरका बारेमा खोप लिने मानिसलाई जानकारी दिनु राज्य, जनस्वस्थविज्ञ र चिकित्सकहरु को दायित्व हुन्छ। 

यो ‘बायो एथिक्स’ अन्तर्गत पर्दछ। रोबेर्ट मलोन मान्दछन् कि यस्तो खोप लिने मानिसको स्वीकृति सुसूचित (इन्फर्म्ड कन्सेन्ट) हुनुपर्दछ। सन् १९४७ को नुरेम्बेर्ग कोड, १९६४ को हेल्सिन्की घोषणापत्र, ११९४ को विश्व स्वास्थ्य सङ्गठन एम्स्टर्डम घोषणापत्रले कुनै पनि प्रकारको चिकित्सकीय हस्तक्षेपका लागि सुसूचित सवीकृतिको आवश्यकता पर्ने बताउँदछ। 

खोप लिने प्रत्येक मानिसले यसले आफूलाई दिनसक्ने लाभ र यसले पुर्‍याउनसक्ने हानीका बारेमा सबै किसिमका जानकारीसँग परिचित हुनु जरुरी छ। मैले परम्परागत प्रविधिको खोप लिएको छु र मलाई कुनै अल्पकालीन प्रतिकूल असर देखा परेन। दीर्घकालीन असर देखा परे त्यसका लागि तयार छु तर आजको चरम सेन्सरसिपको बेलामा आममानिसले पूर्ण जानकारी कसरी पाउन सक्छन ?  यो गम्भीर प्रश्न हो।  

प्रकाशित मिति: : 2021-08-09 20:00:00

प्रतिकृया दिनुहोस्